कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि क्षेत्रलाई निर्वाहमुखी अवस्थाबाट माथि उठाउँदै आधुनिक, प्रतिस्पर्धी र निर्यातमुखी बनाउने उद्देश्यसहित नयाँ कार्यविधि लागू गरेको छ। कृषिमन्त्री डा. मदनप्रसाद पारियारको स्वीकृतिपछि मन्त्रालयले ‘कृषि विभाग तथा मातहतका कार्यालयको कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८२’ कार्यान्वयनमा ल्याएको हो।
कार्यविधिअनुसार साना तथा सीमान्तकृत किसानलाई कृषि यन्त्रमा सहज पहुँच पुर्याउने उद्देश्यले देशभर ‘कस्टम हायरिङ सेन्टर’ स्थापना गरिनेछ। यी केन्द्रहरूलाई कृषि यन्त्र खरिदका लागि ५० प्रतिशतसम्म र भौतिक पूर्वाधार निर्माणका लागि पनि ५० प्रतिशतसम्म अनुदान उपलब्ध गराइने व्यवस्था गरिएको छ।
त्यस्तै, केन्द्र तथा फार्ममार्फत सञ्चालन गरिने कृषि मेला, विभिन्न दिवस, प्रयोगशाला सेवा, तालिम, गोष्ठी, सचेतना कार्यक्रम, प्रविधि प्रदर्शन तथा आकस्मिक बालीसम्बन्धी कृषि प्रसार कार्यक्रमहरूमा शतप्रतिशत अनुदान उपलब्ध गराइने कार्यविधिमा उल्लेख छ।
अनुदान प्रणालीलाई पारदर्शी र न्यायोचित बनाउन मन्त्रालयले विभिन्न कार्यक्रमका लागि अनुदानको सीमा स्पष्ट रूपमा निर्धारण गरेको छ। सामुदायिक बीउ बैंक सुदृढीकरणका लागि ८५ प्रतिशतसम्म अनुदानको व्यवस्था गरिएको छ। साथै, निजी तथा व्यावसायिक कृषि पूर्वाधार निर्माण र कृषि यन्त्र खरिदमा ५० प्रतिशतसम्म अनुदान प्रदान गरिनेछ।
प्राङ्गारिक कृषि उपजको निर्यात गर्दा लाग्ने प्रमाणीकरण शुल्कमा पनि ५० प्रतिशत अनुदान उपलब्ध गराइने व्यवस्था गरिएको छ। कार्यविधिले व्यावसायिक कृषि प्रवर्द्धनमा विशेष जोड दिँदै मौरी पालन र च्याउ खेतीलाई प्राथमिकतामा राखेको छ। यी क्षेत्रको प्रवर्द्धनका लागि राष्ट्रियस्तरमा मह मेला तथा च्याउ मेला आयोजना गरिने उल्लेख छ।
नयाँ पहलअन्तर्गत कृषि उत्पादन वृद्धि, उद्यमशीलता विकास र पूर्वाधार निर्माणका कार्यक्रमहरू नेपाली सेनासँगको सहकार्यमा सञ्चालन गरिनेछ। यसले सेनाको स्वामित्वमा रहेका बाँझो जग्गाको सदुपयोग गर्ने र अवकाशप्राप्त सैनिकलाई व्यावसायिक कृषिमा संलग्न गराउने लक्ष्य लिएको छ।
कार्यविधिले स्थानीय रैथाने बाली तथा कृषि जैविक विविधताको संरक्षणलाई पनि प्राथमिकता दिएको छ। खाद्यान्न, दलहन तथा तेलहनका मौलिक जातका बीउ संरक्षण र उत्पादनमा संलग्न समूह तथा सहकारीहरूलाई क्षमता विकास तथा प्रोत्साहन अनुदान प्रदान गरिने व्यवस्था गरिएको छ।
कृषि क्षेत्रप्रति जनचेतना अभिवृद्धि गर्न विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दिवसलाई उत्सवका रूपमा मनाइनेछ। असार १५ गते राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, विश्व खाद्य दिवस, विश्व माटो दिवस र राष्ट्रिय कृषि जैविक विविधता दिवस संघीयदेखि स्थानीय तहसम्म मनाइने कार्यविधिमा उल्लेख छ।