पात्रो

रेडियो

समाचार खोजी

वाणिज्य बैंकहरूको नयाँ ब्याजदर : आधाले घटाए, आधाले यथावत

साझा अर्थ संवाददाता ३० कार्तिक २०८२, आइतवार

काठमाडौँ । वाणिज्य बैङ्कहरूले मङ्सिर महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । नयाँ ब्याजदर अनुसार २० मध्ये १० बैङ्कले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने बाँकी १० बैङ्कले कात्तिक महिनाकै दरलाई यथावत राखेका छन् ।
कात्तिकमा औसत ५.२० प्रतिशत रहेको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर मङ्सिरमा घटेर ५.०४ प्रतिशतमा पुगेको छ । त्यस्तै, संस्थागत मुद्दती निक्षेपको ब्याजदर पनि ३.६५ प्रतिशतबाट घटेर ३.५८ प्रतिशतमा झरेको छ ।
स्ट्याण्डर्ड चार्टर्ड, नबिल, प्राइम कमर्सियल, सिटिजन्स इन्टरनेशनल, नेपाल एसबीआई, कुमारी, सानिमा, सिद्धार्थ, एनआईसी एशिया र हिमालयन बैङ्कले व्यक्तिगत मुद्दती दर घटाएका छन् ।
यिनमध्ये नबिल, नेपाल एसबीआई, सानिमा, एनआईसी एशिया र हिमालयनले व्यक्तिगतसँगै संस्थागत मुद्दती निक्षेपको दर समेत घटाएका छन् । अर्कोतर्फ प्रभु बैङ्क, कृषि विकास बैङ्क, नेपाल इन्भेष्टमेन्ट मेगा, माछापुच्छ्रे, एनएमबी, लक्ष्मी सनराइज, एभरेष्ट, नेपाल बैङ्क, राष्ट्रिय वाणिज्य र ग्लोबल आईएमई बैङ्कले ब्याजदर यथावत राखेका छन् ।
नयाँ दर अनुसार ग्लोबल आईएमई बैङ्कले व्यक्तिगत मुद्दतीमा छ प्रतिशत ब्याज दिँदै सबैभन्दा उच्च दर प्रस्ताव गरेको छ भने स्ट्याण्डर्ड चार्टर्ड बैङ्कले ४.७ प्रतिशत ब्याजसहित सबैभन्दा न्यून दर दिएको छ ।
नबिल, प्राइम कमर्शियल र सिटिजन्सले ४.७५ प्रतिशतका दरमा व्यक्तिगत मुद्दती निक्षेप उपलब्ध गराएका छन् भने नेपाल एसबीआईले ४.८ प्रतिशत र कुमारी बैङ्कले ४.९१ प्रतिशत ब्याज दिनेछ ।
राष्ट्रिय वाणिज्य बैङ्कले व्यक्तिगत तर्फ ५.५ प्रतिशत ब्याज कायम राखेको छ भने हिमालयन बैङ्कले ५.५ प्रतिशत र सानिमा बैङ्कले पाँच प्रतिशत ब्याज दिनेछ । बैङ्किङ क्षेत्रभित्र तरलता प्रशस्त रहँदा निक्षेपको ब्याजदरमा दबाब बढेको र कर्जा प्रवाह सुस्त रहँदा ब्याजदर ओरालो लाग्न थालेको बैङ्कहरूले बताएका छन् । राष्ट्र बैङ्कले दीर्घकालीन अवधिमा पनि तरलता व्यवस्थापनलाई प्राथमिकतामा राख्दै स्थायी निक्षेप तथा तरलता सुविधा सक्रिय राखेपछि निकट भविष्यमा पनि निक्षेप तथा कर्जाको ब्याजदर कम रहन सक्ने विश्लेषण गरिन्छ ।

58 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ