काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को तीन महिनामा वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति १.४७ प्रतिशत रहेको छ । कुल विदेशी विनिमय सञ्चिति २९ खर्ब ७९ अर्ब ८१ करोड रहेको छ ।
नेपाल राष्ट्र बैकले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८२/८३ को तीन महिना (२०८२ असोजसम्म) को तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार अमेरिकी डलरमा उक्त सञ्चिति २१ अर्ब २१ करोड पुगेको छ । यस्तो सञ्चिति १६.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ ।
यस्तै चालु खाता २३ खर्ब सात अर्ब ५९ करोड र शोधनान्तर दुई खर्ब ६४ अर्ब तीन करोड बचतमा रहेको छ । रेमिट्यान्स आप्रवाह नेपाली रुपियाँमा ३५.४ प्रतिशतले र अमेरिकी डलरमा २९.२ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको असोज महिनाको रेमिट्यान्स आप्रवाह दुई खर्ब एक अर्ब २२ करोड रहेको छ । निर्यात ८९.६ प्रतिशतले र आयात १९.८ प्रतिशतले बढेको छ ।
नेपाल सरकारको खर्च तीन खर्ब ६४ अर्ब ५९ करोड र राजस्व परिचालन दुई खर्ब ४९ अर्ब पाँच करोड रहेको छ । विस्तृत मुद्राप्रदाय ३.२ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १२.२ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन ३.० प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा १.५ प्रतिशतले बढेको छ ।
वार्षिक विन्दुगत आधारमा निक्षेपको बृद्धिदर १३ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको बृद्धिदर ७.३ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाहरुबीचको अन्तरबैंक कारोबारको भारित औसत ब्याजदर २.५८ प्रतिशत र ९१–दिन अवधि भएको ट्रेजरी बिलको भारित औसत ब्याजदर १.९१ प्रतिशत रहेको छ । वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ३.८५ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ७.५० प्रतिशत रहेको छ ।