नेपाल विद्युत् प्राधिकरणले भारतको बिहार राज्यमा पनि विद्युत् निर्यात सुरु गरेको छ । प्राधिकरणले शुक्रबारबाट बिहारमा ४० मेगावाट विद्युत् निर्यात गरेको हो ।
भारतले ३ भदौमा नेपालका विभिन्न १० जलविद्युत् परियोजनाको एक सय २५ मेगावाट विद्युत् बिहारमा बिक्री गर्न प्राधिकरणलाई स्वीकृत दिएको थियो । त्यसमा भारतको नेसनल लोड डिस्प्याच सेन्टर (एनएलडिसी)ले ‘नो अब्जेक्सन लेटर’ दिएपछि पहिलो चरणमा तीन परियोजनाको ४० मेगावाट विद्युत् निर्यात सुरु गरेको प्राधिकरणका कार्यकारी निर्देशन कुलमान घिसिङले बताए ।
अहिले १४.४५३ मेगावाटको माया खोला, १४.४ मेगावाटको मोदी र ११.६४ मेगावाटको दुधकुण्ड जलविद्युत् परियोजनाको विद्युत् बिहारमा निर्यात गरिएको हो । एक सय ३२ केभीको कुशाहा–कटैया अन्तरदेशीय प्रसारणलाइनबाट उक्त विद्युत् बिहारमा निर्यात गरिएको हो । सम्झौताअनुसार प्रतियुनिट आठ रुपैयाँ ७२ पैसा (५.४५ भारु)मा उक्त विद्युत् निर्यात भइरहेको प्राधिकरणको भनाइ छ ।
११.६४ मेगावाटको दोर्दी–१, ९.९९ मेगावाटको डाउन पिलुवा, १०.६७ मेगावाटका तल्लो खारे, ११.६४ मेगावाटको माथिल्लो खिम्ती, ६.८ मेगावाटको माथिल्लो खिम्ती–२, १४.६ मेगावाटको गण्डक र १९.२१ मेगावाटको माथिल्लो सोलु जलविद्युत् परियोजनाले ‘नो अब्जेक्सन लेटर’ पाइसकेका छैनन् । अबको एक साता उक्त आयोजनाको विद्युत् बिक्री गर्न पनि नो अब्जेक्सन लेटर आउने प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको भनाइ छ ।
‘तीन आयोजनाको ४० मेगावाट विद्युत् भारतको बिहारमा निर्यात सुरु भइसकेको छ । बाँकी सात आयोजनाको विद्युत् पनि एक साताभित्र बिहारमा निर्यात हुनेछ,’ उनले भने, ‘भारतले तत्काललाई बिहारमा एक सय २५ मेगावाट विद्युत् बिक्री स्वीकृत दिइसकेको छ । अब एक साता सोही मात्रामै बिहारमा विद्युत् निर्यात हुनेछ ।’
साझा अर्थ संवाददाता