२०८२ पुस २४, काठमाडौं |
नेपाल प्रहरीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि १ लाख ३३ हजार ९८० म्यादी प्रहरी भर्ना गर्ने भएको छ। प्रहरी प्रधान कार्यालयले इच्छुक नेपाली नागरिकलाई भर्ना प्रक्रियामा सहभागी हुन आह्वान गर्दै सूचना जारी गरेको हो।
भर्ना आवेदन पुस २५ गतेदेखि माघ १ गतेसम्म देशभरका ७७ वटै जिल्ला प्रहरी कार्यालयमा बुझाउन सकिनेछ। आवेदन दिने अन्तिम मितिसम्म उम्मेदवारको उमेर १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था गरिएको छ। उम्मेदवारले नेपाली नागरिकता, साधारण लेखपढ क्षमता, शारीरिक र मानसिक स्वास्थ्य, राजनीतिक दलमा आबद्ध नहुने तथा कुनै फौजदारी अभियोग नराखेको हुनुपर्नेछ।
प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट सेवानिवृत्त पूर्वसुरक्षाकर्मी, पूर्व वनरक्षक तथा सुरक्षा निकायमा शारीरिक र स्वास्थ्य परीक्षण उत्तीर्ण पूर्वकर्मीहरूलाई प्राथमिकता दिइनेछ। यसअघि सम्पन्न निर्वाचनमा म्यादी प्रहरीका रूपमा काम गरेका कर्मचारी तथा विदेशी मित्रराष्ट्रका सुरक्षा निकायमा सेवा गरेका नेपाली पनि छनोटमा पर्नेछन्।
भर्ना तालिकाअनुसार प्रारम्भिक छनोट माघ ५–९ गतेसम्म हुनेछ भने अन्तिम नतिजा माघ १२ गते सार्वजनिक गरिनेछ। माघ १५–२४ गतेसम्म चयनित म्यादी प्रहरीलाई तालिम र प्रशिक्षण प्रदान गरिनेछ। नियुक्तिपछि म्यादी प्रहरीको कार्यकाल ४० दिन वा सरकारले तोकेबमोजिम हुनेछ।
म्यादी प्रहरीले प्रतिदिन ८६९ रुपैयाँ ४० पैसाका दरले ४० दिनका लागि तलब पाउनेछन्। त्यस्तै खाद्यान्न, पोसाक, खाजा तथा तयारी खर्चको सुविधा तोकिएको दरअनुसार उपलब्ध गराइनेछ। यदि कार्यपालनको क्रममा म्यादी प्रहरी घाइते वा मृत्युवरण गर्नु परेमा नेपाल सरकारले तोकेबमोजिम क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था गरिएको छ।