पात्रो

रेडियो

समाचार खोजी

हरियाणामा थप १२५.८९ मेगावाट विद्युत् निर्यात

साझा अर्थ संवाददाता २० भदौ २०८१, बिहिवार

 

 

नेपालबाट भारतको हरियाणा राज्यमा थप १२५.८९ मेगावाट विद्युत् निर्यात सुरु भरिएको छ । 

भारतको नेसनल लोड डिस्प्याच सेन्टर (एनएलडिसी)ले ‘नो अब्जेक्सन लेटर’ दिएपछि ७५ मेगावाटको लिखु–१ र ५०.८९ मेगावाटको लिखु–२ को १२५.८९ मेगावाट विद्युत् हरियाणामा बिक्री सुरु भएको नेपाल बिद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । 

हरियाणामा प्रतियुनिट ८ रुपैयाँ ७२ पैसा (५.४५ भारु) मा विद्युत् बिक्री गर्न सुरु गरिएको हो । योसँगै भारतको हरियाणा राज्यमा मध्यकालीन सम्झौताअन्तर्गत दुई सय ३५ मेगावाट विद्युत् निर्यात हुन थालेको छ । 

प्राधिकरणले यसअघि पनि हरियाणा राज्यमा १०९ मेगावाट विद्युत् मध्यकालिन सम्झौताअन्तर्गत नै बिक्री गरिरहेको थियो । त्यसको दर भने प्रतियुनिट ८ रुपैयाँ ४० पैसा (५.२५ भारु) छ । यसमा भारतर्फको प्रसारण लाइन शुल्क, चुहावट, ट्रेडिङ मार्जिनलगायतका सम्पूर्ण कर तथा शुल्क भारतले नै व्यहोर्नेछ । 

प्राधिकरणले दुई चरणमा दुई–दई सय मेगावाट गरी हरियाणामा कुल चार सय मेगावाट विद्युत् बिक्री गर्ने गरी यसअघि नै एनटिपिसी विद्युत् व्यापार निगम (एनभिभिएन)सँग मध्यकालीन विद्युत् बिक्री सम्झौता गरेको थियो । त्यसमा गत वर्ष जेठमा २०० मेगावाट र अहिले थप २०० मेगावाट विद्युत् बिक्री गर्ने गरी सम्झौता भएको थियो । पहिलो चरणको सम्झौताअन्तर्गतका प्रतियुनिट ८ रुपैयाँ ४० पैसा (५.२५ भारु) र दोस्रो चरणका सम्झौताअन्तर्गतका प्रतियुनिट ८ रुपैयाँ ७२ पैसा (५.४५ भारु) मा विद्युत् बिक्री गरिनेछ । पाँच वर्षसम्म हरेक वर्ष जुनदेखि अक्टोबरसम्म विद्युत् बिक्री गर्ने गरी मध्यकालीन सम्झौता गरिएको थियो, त्यो सम्झौता नवीकरण पनि गर्न सकिन्छ । 

पहिलो चरणको सम्झौताअन्तर्गत यसअघि १०९ मेगावाट विद्युत् बिक्री भइरहेको छ । दोस्रो चरणको सम्झौताअन्तर्गत अहिले १२५ मेगावाट विद्युत् निर्यात भइरहेको छ । अब पहिलो चरणको सम्झौताअन्तर्गत ९१ मेगावाट र दोस्रो चरणको सम्झौताअन्तर्गत ७५ मेगावाट विद्युत् बिक्रीको स्वीकृत आउन बाँकी छ । त्योअनुसार स्वीकृत आएमा हरियाणमा कुल चार सय मेगावाट विद्युत् मध्यकालीन सम्झौताअन्तर्गत बिक्री हुनेछ । 

194 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ