काठमाडौंः मत्स्य विकास केन्द्र कुलेखानीले २ हजार ५२४ किलो माछा उत्पादन गरी ६ लाख १७ हजार २१६ रुपैयाँ आर्जन गरेको छ । केन्द्रले गत आर्थिक वर्षमा सो परिमाणमा माछा उत्पादन गरेको हो ।
केन्द्रले सिल्भर कार्प, बिगहेड, रहु, नैनी लगायतका विभिन्न प्रजातिका माछा उत्पादन गरेर स्थानीय बजारमा बिक्री गर्ने गरेको छ । केन्द्रका अनुसार इन्द्र सरोवरको जैविक विविधता संरक्षणका लागि ७ लाख ३० हजार माछाको भुरा छोडिएको छ ।
केन्द्रले माछापालनलाई बढावा दिन मकवानपुरका दुई विद्यालयमा प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ । कालिका माध्यमिक विद्यालयमा २४ विद्यार्थी र ९ शिक्षकलाई माछापालन प्रविधि, पोषण मूल्य र जलाशय संरक्षणबारे जानकारी दिइएको छ ।
यसैगरी, चितवन, सिन्धुली र नुवाकोटमा आयोजित मत्स्य घुम्ती शिविरमा ८१ कृषकलाई प्रशिक्षण दिइएको छ। कृषकहरूलाई पोखरी व्यवस्थापन, रोग नियन्त्रण र आवश्यक रसायनहरूबारे जानकारी दिइएको छ।
केन्द्रले उत्पादन गरेका माछा स्थानीय स्तरमै खपत हुने गरेको छ । यसले स्थानीय बजारमा माछाको आपूर्ति बढाउनुका साथै रोजगारी सिर्जनामा पनि योगदान पुर्याएको छ । आगामी दिनमा केन्द्रले माछापालन क्षेत्रलाई अझै व्यवसायिक बनाउने लक्ष्य राखेको छ ।