दोलखाः भीमेश्वर नगरपालिका वडा नम्बर ६ मा सिमपानी-.भ्युटावर-बुद्ध पार्क पदमार्ग निर्माण सम्पन्न भएको छ । युयसएआईडीको तयार नेपालको सहयोग तथा भीमेश्वर नगरपालिकाको समन्वयमा पदमार्ग निर्माण सम्पन्न भएको हो ।
नगरपालिकाको वडा नम्बर ६ को खोरथली सामूदायिक वन क्षेत्रमा हाइकिङको लागि तथा पर्यटन प्रवद्र्धनको उद्देश्यले पदमार्ग निर्माण गरिएको भीमेश्वर नगरपालिकाका मेयर ईश्वर नारायण मानन्धरले बताउनु भयो । आधुनिक शहरी जीवन विलासी बन्दै गएको सन्दर्भमा पदयात्रा मार्गले मर्निङवाक गर्न चाहने हरुकालागि यो मार्ग उपयुक्त हुने मेयर मानन्धरको भनाइ रहेको छ । विशेष गरी भीमेश्वर नगरपालिका पर्यटकीय नगरपालिका भएकाले बाहिरबाट आएका पाहुनालाई बिहानी समयमा पदमार्गमार्फत् भ्यूटावरसम्म पुग्न सहज हुने उहाँले बताउनु भयो ।
कुल लागत भ्याटबाहेक १ करोड ३३ लाख ४३ हजार सातसय चार रुपैयाँमा सिम्पानी निर्माण सेवा प्रालिले ठेक्का मार्फत पदमार्गको निर्माण सम्पन्न गरेको भीमेश्वर नगरपालिकाका ईञ्जिनीयर सुरेस राउतले जानकारी दिनुभयो । २०८० माघ १७ गते बाट काम सुरु गरी २०८१ साल असार २८ सम्म सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएकोमा सम्झौता आगावै काम सम्पन्न गरिएको सिम्पानी निर्माण सेवा प्रालिका प्रोप्राइटर राजु केसीले बताउनु भयो ।
कुल २ किलोमिटर लम्बाई रहेको यो पदमार्गको निर्माण पछि भीमेश्वर नगरपालिका वडा नम्बर एकको राङराङथलीमा रहेको थामी संग्रहालय सम्म पदमार्गले जोडिएको छ ।
सिमपानीबाट थामी संग्रहालय पुग्नकालागि कुल चार किलोमिटरको दुरी रहेको छ । सिमपानी बाट बुद्ध पार्कसम्म दुई किलोमिटर तथा बुद्ध पार्कबाट थप दुई किलोमिटरको यात्रा गरेपछि थामी संग्रहालय पुग्न सकिन्छ । आकर्षक सिंढीहरु बाट निर्मिति पदमार्गको विचमा ३ वटा प्रतिक्षालय, चौतारी ६ वटा तथा डबली तीनवटा रहेको छ । पदयात्रा मार्गमा भ्रमणका क्रममा सिम्पानी पार्क, खोरथली वन क्षेत्र, भ्यु टावर,निर्माणाधिन बुद्ध पार्क, सुनगाभा क्षेत्र, तिलक पोखरी तथा थामी संग्रहालयको अवलोकन गर्न सकिने छ ।
साझा अर्थ संवाददाता