काठमाडौँः संयुक्त राज्य अमेरिकाले विपद् उद्धार तथा राहत कार्यमा सहयोग गर्न नेपाललाई विमान उपलब्ध गराउने भएको छ । विमान उपलब्ध गराउने दिशामा अमेरिकी विदेश मन्त्रालयअन्तर्गतका तीन ओटा विभिन्न अनुदान प्रदान गर्ने प्रतिबद्धता व्यक्त भएको अमेरिकी दूतावासले आज जनाएको हो ।
दुई देशहरूबीचको दौत्य सम्बन्धलाई सुदृढ तुल्याउने क्रममा उक्त सहयोगको प्रतिबद्धता राजदुतावासले व्यक्त गरेको हो । सन् २०२१ मा अमेरिकाले सन् २०२५ जनवरीसम्म तीन करोड ७० लाख डलर बराबरका दुई ओटा एम २८ स्काइट्रक उपलब्ध गराउने सहमति भएको दूतावासले जनाएको छ । एम २८ स्काइट्रक छोटा धावनमार्गमा उडान र अवतरण गर्नसक्ने क्षमता भएका स्थिर पखेटा भएका विमान हुन् । यीमध्येको एउटा विमान हवाई एम्बुलेन्स भएको दुतावासले जनाएको छ । यो अनुदान कार्यक्रममा विमानचालक र मर्मतकर्ताका लागि तालिमको व्यवस्थाका साथै पाटपुर्जा सहयोग समेत समावेश छ ।
साझा अर्थ संवाददाता