पात्रो

रेडियो

समाचार खोजी

भारित औसत मूल्यको आधारमा अन्तिम मूल्य तय गर्ने तयारी

मूल्य गणना गर्ने विधि परिवर्तन गर्ने हल्लाले बजारको भविष्य के हुन्छ ?

साझा अर्थ संवाददाता ७ फागुन २०८१, बुधवार

काठमाडौं । अहिले नेपालको सेयर बजारमा एउटा विषयले आम लगानीकर्तालाई अन्यौलमा पारेको छ । पहिले कारोबार दिनको अन्तिम कारोबारलाई आधार मानेर कुनै पनि सेयरको अन्तिम मूल्य तोकिने गरिन्थ्यो ।
तर अहिले विभिन्न सञ्जालहरुमा अन्तिम शेयरको कारोबार मूल्य गणना गर्ने विधि परिवर्तन गर्ने हल्लाले बजारको भविष्य के हुन्छ भन्ने विषयमा अनिश्चितता हुन थालेको छ ।
यसअघि दोस्रो बजारमा अन्तिम समयमा जुन मूल्यमा कारोबार हुने गरेको थियो, सोही मूल्यलाई आधार मानेर भोलिपल्ट कारोबार सुरु हुने अहिलेको प्रावधान छ । तर अब नेप्सेले अन्तिम १५ मिनेटको कारोबारको भारित औसत मूल्यको आधारमा अन्तिम मूल्य तय गर्ने निर्णय गरेर नियामक निकाय धितोपत्र बोर्डमा अन्तिम स्विकृतिका लागि पठाएको छ ।
यदि उक्त प्रावधान स्विकृत भयो भने दुई बजेर ४५ मिनेट देखि तीन बजेसम्म हुने कारोबार मूल्यहरूको भारित औसत मूल्य नै भोलिपल्टको पहिलो कारोबार मूल्य तय गरिने छ । जुन मूल्यको दुई प्रतिशत तल वा माथि लगानीकर्ताले आदेश दाखिला गर्न सक्ने भएका छन् ।
उक्त निर्णय नेप्सेको सञ्चालक समिति बैठकले पारित गरिसकेको छ । साही निर्णय अनुसार नेप्सेले उक्त प्रस्ताव हाल धितोपत्र बोर्डलाई पठाइसकेको छ ।
साझा अर्थसँगको कुराकानीमा नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले छिट्टै उक्त नियम धितोपत्र बोर्डले पारित गरेलगत्तै लागु हुने समेत बताउनुभयो । पराजुलीका अनुसार अन्तराष्ट्रिय बजारमा सेयरको मूल्य तय गर्ने विभिन्न प्रावधान छन् । कुनै देशको स्टक एक्सचेञ्जमा अन्तिम १० वटा कारोबारको औषत मूल्यलाई आधार मानेर अन्तिम मूल्य तोकिन्छ भने कतै निश्चित समयलाई आधार मानेर मूल्य तोकिने प्रचलन छ । त्यसरी नै नेप्सेले अन्तिम १५ मिनेटको कारोबारको भारित औसत मूल्यको आधारमा अन्तिम मूल्य तय गर्ने प्रस्ताव गरेको हो । पराजुलीका अनुसार अन्तिम मिनेटमा सेयरको मूल्यमा आउने भारी उतारचढावलाई यो नियमले रोकथाम गर्ने भएको छ ।
यो प्रावधान लागु भएपछि बजारका ठूला खेलाडीले गर्दै आएको मार्केट “एमकेटी” को दुरुपयोग रोकिने भएको छ । टीएमएसको यो फिचर प्रयोग गर्दै अन्तिम सेकेण्डमा शेयरको मूल्यमा सर्किट लगाउन पल्केकाहरुलाई यो प्रावधानले ठूलै धक्का दिने भएको छ । ठूला खेलाडीहरुले साना पूँजीकरण भएका कम्पनीको सेयर मूल्यमा आफ्नो पैसाको आडमा मनपरी चलखेल गर्ने चलन यो नियमले हदैसम्म निमोठ्ने देखिन्छ ।
नेप्सेमा एक दिनमा १० प्रतिशतसम्म बढ्न सक्ने र १० प्रतिशतसम्म नै घट्न सक्ने प्रावधान छ । तर केही निश्चित ठूला खेलाडीहरुले कहिले कुनै सेयरमा अन्तिम समयमा कम्पनीको मूल्य १० प्रतिशतसम्म बढाएर सर्किट लगाउने गर्थे । खेलाडीहरुले कुनै सेयरमा त निकै कम कित्ता शेयरको कारोबारमा समेत दिनभर तल्लो मूल्यमा नै कारोबार गराएर अन्तिममा एमकेटी प्रयोग गर्दै सर्किट लगाउने गर्थे । यसरी माकेटको लुप होल समातेर सेयरको मूल्यमा रजगज गर्नेहरुको अब भित्रैबाट टाउको दुख्ने भएको छ ।
अन्तिम मूल्य कायम गराउनकै लागि गरिने एमकेटीको दुरुपयोगको अन्त्य गर्न यो प्रावधान फलदायी हुने लगानीकर्ता बताउँछन् ।

329 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ