काठमाडौँ, ११ साउन: नेपाल राष्ट्र बैंकले नियमनकारी निर्देशन उल्लंघन गर्ने तीन वटा बैंक तथा वित्तीय संस्थामाथि कारबाही गरेको छ। आर्थिक वर्ष २०८२/८३ को अवधिमा मौद्रिक अनुशासन विपरीत कार्य गरेको पाइएपछि केन्द्रीय बैंकले नारायणी डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र रिलायन्स फाइनान्सलाई दण्डित गरेको हो।
कारबाहीमा परेको नारायणी डेभलपमेन्ट बैंकले समस्याग्रस्त सूचीबाट हटेपछि पनि एकै ग्राहक वा समूहलाई कोर क्यापिटलको १० प्रतिशतभन्दा बढी कर्जा प्रवाह गरेको पाइएपछि तत्कालीन प्रमुख कार्यकारी अधिकृत विष्णु रेग्मीलाई सचेत गराइएको छ।
त्यसैगरी, भल्टमा नगद अपुग हुनुका साथै अनधिकृत कर्मचारीहरूले ग्राहकको खातामा पहुँच पुर्याएको गम्भीर लापरबाहीमा समयमै छानबिन नगरेको भन्दै सप्तकोशी डेभलपमेन्ट बैंकलाई कडा चेतावनी दिइएको छ। यसैगरी, तोकिएको अनिवार्य नगद मौज्दात अनुपात कायम गर्न असफल भएको रिलायन्स फाइनान्सलाई २ हजार ९ सय २४ रुपैयाँ ४८ पैसा जरिवाना तिराइएको छ। राष्ट्र बैंकको यो कदमले वित्तीय क्षेत्रमा सुशासन मजबुत बनाउने अपेक्षा गरिएको छ।