काठमाडौँ, ३१ असार: आर्थिक वर्षको अन्त्यसँगै आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडले आफ्ना समस्त ग्राहकहरूलाई हितग्राही (डिम्याट) खाता र मेरोसेयर सेवा समयमै नवीकरण गर्न आग्रह गरेको छ। प्रचलित धितोपत्र नियमावली अनुसार हरेक आर्थिक वर्षको मसान्तभित्र खाता नवीकरण गर्नुपर्ने अनिवार्य व्यवस्था रहेकाले तोकिएको समयभित्र शुल्क भुक्तान नगरेमा खाता स्वतः रोक्का हुने मर्चेन्ट बैंकिङले जनाएको हो। आरबीबी मर्चेन्ट बैंकिङ तथा राष्ट्रिय वाणिज्य बैंकका शाखा कार्यालयहरू मार्फत डिम्याट खाता खोलेका ग्राहकहरूले साउन १ गतेदेखि लागू हुने गरी खाता सुरक्षित राख्न यो प्रक्रिया पूरा गर्नुपर्नेछ।
सूचना अनुसार लगानीकर्ताहरूले डिम्याट खाता सञ्चालन गरेबापत वार्षिक १०० रुपैयाँ र मेरोसेयर सेवा सुचारु राख्न थप ५० रुपैयाँ नवीकरण शुल्क बुझाउनुपर्नेछ। ग्राहकहरूको सहजताका लागि मर्चेन्ट बैंकिङले ई-सेवा, खल्ती, कनेक्ट आईपीएस जस्ता विभिन्न डिजिटल वालेटहरू तथा राष्ट्रिय वाणिज्य बैंकको मोबाइल बैंकिङ एप मार्फत अनलाइन भुक्तानीको व्यवस्था मिलाएको छ। समयमै नवीकरण शुल्क नबुझाएमा दोस्रो बजारमा गरिएको सेयर कारोबारको राफसाफ प्रक्रिया रोकिने तथा प्राथमिक सेयर (आईपीओ) आवेदन दिन समेत नपाइने भएकाले अन्तिम समयको प्राविधिक चापबाट बच्न आरबीबी मर्चेन्ट बैंकिङले आफ्ना समस्त सेवाग्राहीहरूलाई बेलैमा सचेत गराएको छ।