काठमाडौँ, ३१ असार: तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थाहरूबाट १ खर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्न लागेको छ। केन्द्रीय बैंकले एक सूचना जारी गर्दै बोलकबोल प्रक्रियामार्फत उक्त परिमाणमा निक्षेप तान्न लागेको हो। ९१ दिने अवधिको यस निक्षेप संकलनका लागि आज दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत आवेदन दिइसक्नुपर्ने व्यवस्था गरिएको छ।
राष्ट्र बैंकले तय गरेको मापदण्ड अनुसार यस प्रक्रियामा सहभागी हुने वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँ र त्यसभन्दा बढीको हकमा ५ करोडका गुणांकमा आवेदन दिन सक्नेछन्। निक्षेपको ब्याजदर भने बोलकबोल प्रक्रियाबाटै निर्धारण हुनेछ। नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र यस प्रक्रियामा सहभागी हुन पाउनेछन्।
केन्द्रीय बैंकले संकलन गर्ने यो निक्षेपको सावाँ तथा ब्याज असोज २८ गते भुक्तानी गरिने तालिका छ। बजारमा अधिक तरलता रहेको अवस्थामा त्यसलाई नियन्त्रण गरी वित्तीय स्थायित्व कायम राख्न राष्ट्र बैंकले यस प्रकारको 'डिपोजिट कलेक्सन' उपकरण प्रयोग गर्दै आएको छ। तोकिएको समयभित्र सहभागी संस्थाहरूले आफ्नो कुल सीमाभित्र रहेर बहुविध बोलपत्र समेत पेस गर्न सक्ने बैंकले जनाएको छ।