पात्रो

रेडियो

समाचार खोजी

मेची राजमार्गको सडक भत्किँदा इलाम, पाँचथर र ताप्लेजुङको सडक सम्पर्क विच्छेद

साझा अर्थ संवाददाता २९ असार २०८३, सोमवार

काठमाडौँ, २९ असार: 

विगत दुई दिनदेखिको लगातारको वर्षाका कारण पूर्वी नेपालको मेची राजमार्ग अन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड भत्किँदा यातायात सेवा पूर्ण रूपमा ठप्प भएको छ। इलाम नगरपालिका–९ मा सडकको ठूलो हिस्सा भत्किएपछि पहिरोको जोखिम बढेकाले प्रशासनले सोमबार बिहानैदेखि सम्पूर्ण सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाएको हो।

इलामका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालका अनुसार निरन्तरको वर्षाले यो सडकखण्ड विगत चार दिनदेखि नै ठूला सवारीका लागि असुरक्षित बनिसकेको थियो। आइतबारसम्म दुई पाङ्ग्रे सवारीलाई मात्र आउजाउ गर्न दिइएको भए पनि रातभरमा सडक थप भासिएपछि सार्वजनिक सुरक्षालाई ध्यानमा राख्दै अनिश्चितकालका लागि बन्द गरिएको हो। राजमार्ग बन्द भएसँगै इलाम सदरमुकामसहित पहाडी जिल्लाहरू पाँचथर र ताप्लेजुङको झापासँगको सीधा सडक सम्पर्क टुटेको छ। सडक अवरुद्ध भएपछि इलाम, पाँचथर र ताप्लेजुङका लागि खाद्यान्न तथा अत्यावश्यक सामग्री बोकेका दर्जनौँ मालवाहक कन्टेनर र अन्य सवारी साधनहरू माई खोला किनारमै अलपत्र परेका छन्।

वैकल्पिक मार्गहरू पनि ठप्प

राजमार्गको विकल्पका रूपमा प्रयोग गरिने तिलकेनी–सिमलगोला सडकखण्ड अन्तर्गत जोगमाई खोलाको डाइभर्सन आइतबार बाढीले बगाएको छ। त्यस्तै, इलाम र झापा जोड्ने सबैभन्दा छोटो दुरीको मेची कोरिडोर अन्तर्गत पुवा खोलाको डाइभर्सन पनि बाढीले बगाएपछि स्थिति अझ जटिल बनेको जिल्ला प्रहरी कार्यालय इलामका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिनुभयो।

सडक डिभिजन कार्यालय इलामका प्रमुख भवन भट्टराईका अनुसार जोगमाई र पुवा खोलामा बेलीब्रिज जडानका लागि डेढ महिना अघि नै तयारी पूरा भए पनि भारत सरकारबाट नि:शुल्क प्राप्त हुने आवश्यक उपकरणहरू आउन ढिलाइ भएकाले निर्माण कार्य रोकिँदा यो संकट निम्तिएको हो। प्रशासनले मौसममा सुधार नआएसम्म र सडक पुन: सञ्चालन नभएसम्मका लागि उक्त मार्गहरूमा यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

79 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्

सम्बन्धित समाचारहरु