काठमाडौँ, २८ असार : अर्जेन्टिना फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको कान्सास सिटी स्टेडियममा आज भएको रोमाञ्चक क्वार्टरफाइनल खेलमा स्विटजरल्यान्डलाई ३–१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
अर्जेन्टिनाको जितमा एलेक्सिस म्याक एलिस्टर, जुलियन अल्भारेज र लाउटारो मार्टिनेजले समान एक–एक गोलको योगदान दिए । खेलको १०औँ मिनेटमा एलिस्टरले उत्कृष्ट हेड गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ६७औँ मिनेटमा स्विटजरल्यान्डका डान एनडोयेले गोल गरेपछि खेल १–१ को बराबरीमा पुग्यो ।
खेलको ७२औँ मिनेटमा स्विटजरल्यान्डका ब्रेल एम्बोलो दोहोरो पहेँलो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि टोली १० खेलाडीमा सीमित भएको थियो । निर्धारित ९० मिनेटको समय १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।
१० खेलाडीमा समेटिएको स्विटजरल्यान्डविरुद्ध अतिरिक्त समयमा अर्जेन्टिनाले आक्रामक खेल प्रदर्शन गर्यो । खेलको ११२औँ मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई पुनः अग्रता दिलाए । त्यसपछि अतिरिक्त समयकै अन्तिमतिर लाउटारो मार्टिनेजले थप एक गोल गरेपछि अर्जेन्टिनाको ३–१ को जित सुनिश्चित भयो ।
यस जितसँगै साविक विजेता अर्जेन्टिना उपाधि रक्षाको थप नजिक पुगेको छ । अब अर्जेन्टिनाले फाइनल प्रवेशका लागि सेमिफाइनलमा इङल्यान्डको सामना गर्नेछ ।