काठमाडौं, १२ जेठ – जापानको सहयोगमा बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको पिप्लेदेखि बर्खेखोला सडकखण्डको स्थायी पुनर्निर्माण कार्य आजदेखि सुरु भएको छ। नेपालका लागि जापानी राजदूत माएदा तोरु र पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले संयुक्त रूपमा शिलान्यास गर्नुभयो।
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को आर्थिक तथा प्राविधिक सहयोगमा ३.२ किलोमिटर सडकखण्डको पुनर्निर्माण सुरु भएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएकाे छ । २०८१ असोज १२ को बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको करिब ३० किलोमिटर सडकखण्ड पुनर्निर्माण गर्नुपर्ने अवस्था छ।
पिप्ले–बर्खेखोला खण्डको निर्माण जापानको सिमिजु कर्पोरेशनले गर्नेछ। जापानले २ अर्ब ८० करोड येन अनुदान दिनेगरी २०८२ कात्तिकमा द्विपक्षीय सम्झौता भएको थियो। हाल बिपी राजमार्गको चार खण्डमा पुनर्निर्माण कार्य भइरहेको छ। पुनर्निर्माणपछि सडक दुई लेनको बनाइने र पाँचवटा पुललाई समेत दुई लेनमा विस्तार गरिने योजना छ।