पात्रो

रेडियो

समाचार खोजी

बुटवल–पाल्पा सुरुङमार्ग असोजदेखि सञ्चालन गर्ने तयारी

साझा अर्थ संवाददाता ११ जेठ २०८३, सोमवार

भैरहवा:  सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी असोजदेखि सञ्चालनमा ल्याउने लक्ष्यसहित काम तीव्र पारिएको छ। आयोजनाले सुरुङभित्रका संरचना, पहुँच सडक र सुरक्षा व्यवस्थाको काम एकसाथ अघि बढाएको छ।

आयोजनाका अनुसार हालसम्म भौतिक प्रगति ६८ प्रतिशत र वित्तीय प्रगति ५८ प्रतिशत पुगेको छ। यो सुरुङमार्ग ‘इन्जिनियरिङ प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन’ (इपिसी) मोडलमा निर्माण भइरहेको छ, जसमा डिजाइनदेखि निर्माणको पूर्ण जिम्मेवारी ठेक्का कम्पनीको हुनेछ।

आयोजना प्रमुख राजेश पौडेलले असोजभित्र यातायात सञ्चालन गर्ने गरी काम भइरहेको बताए। निर्माण सकिएपछि पाँच वर्षसम्म कम्पनीले सञ्चालन, मर्मत र सुरक्षाको जिम्मेवारी लिनेछ। त्यसपछिको थप पाँच वर्ष ‘ल्याटेन्ट डिफेक्ट लायबिलिटी पिरियड’ रहनेछ।

प्रारम्भमा कानुनी र प्राविधिक जटिलता, रुख कटान अनुमति तथा बजेट अभावले केही ढिलाइ भएको थियो। ती समस्या अहिले समाधानउन्मुख रहेको र म्याद थप तथा माइलस्टोन समायोजनको प्रक्रिया अन्तिम चरणमा पुगेको पौडेलले जानकारी दिए।

सुरुङमार्गसँगै पहुँच सडकमा ‘रिजिड पेभमेन्ट’ गर्न स्वीकृति मिलिसकेको छ। सुरुङ सञ्चालनपछि बाहिरी जोखिमयुक्त क्षेत्रमा रकसेड र भिर संरक्षण गरिनेछ। पैदलयात्रीका लागि सुरक्षित बाटो र खानेपानी व्यवस्था गरिने योजना छ।

प्रारम्भिक लागत करिब १० अर्ब रुपैयाँ अनुमान गरिएकोमा प्रतिस्पर्धात्मक ठेक्कापछि करिब ७ अर्बमा सम्झौता भएको हो। पहिरो र भूक्षयको जोखिम हुने यस खण्डमा सुरक्षित यात्रा र जनधनको क्षति न्यूनीकरण गर्नु सुरुङमार्गको मुख्य उद्देश्य रहेको आयोजनाले जनाएको छ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
123 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

सम्बन्धित समाचारहरु