खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आजदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गरेको छ। देशभर ४२ जिल्लाका ६३ स्थानमा सुपथ मुल्य पसल सञ्चालन गरिने कम्पनीले जनाएको छ ।
भदौ २३ गते बसेको मन्त्रिपरिषद् स्तरिय बैठकले काठमाडौंका चार स्थानसहित देशैभरीबाट ६३ स्थानामा बिक्री केन्द्र स्थापना गरी सुपथ मूल्य पसल सञ्चालन गर्ने निर्णय गरेको थियो । यसका लागि सरकारले ३ करोड रुपियाँ सहुलियत छुट बजेट समेत विनियोजन गरेको छ ।
५० हजार क्विन्टल खाद्यान्न सहुलियतमा बिक्री गर्ने लक्ष्य राखेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चामल, दालमा बजार प्रचलित मूल्यमा किलोको ५ रुपैयाँ छुट दिने जनाएको छ ।त्यस्तै तेल लिटरमा ५ रुपैयाँ तथा गेडागुडी, पिठो, मैदा, चिउरा, चिनी, क्वाँटीमा किलोको ७ रुपैयाँ छुट दिइएको छ ।
यस्तै कम्पनीले कर्णाली सिमीरगेडागुडी, फापर दाना, चिनो, कागुनो, उवा र जुम्ली मार्सीमा किलोको ७ रुपैयाँ छुट दिएको छ ।
आवश्यकता अनुसार खाद्यान्नका लागि कम्पनीले ठेक्का लगाइसकेको जनाएको छ । चाडपर्व लक्षित गरेर कम्पनीले जिउँदो खसी–बोका र च्यांग्रा तथा डीडीसी घिउमा किलोको १० रुपैयाँ छुट दिइएको कम्पनीले जनाएको छ ।
सुपथ मूल्य पसल सञ्चालन गरिने स्थानहरु काठमाडौं उपत्यका भित्र ४ स्थानहरु थापाथली, रामशाहपथ, नख्खु र सूर्यविनायकमा कम्पनीको सुपथ मुल्य पसलहरु रहनेछन् । त्यस्तै उपत्यका बाहिर ५९ स्थानहरुमा पसल सञ्चालन हुने कम्पनीले जनाएको छ ।
साझा अर्थ संवाददाता