काठमाडौं : भोजपुरको हतुवागढी गाउँपालिका ९ कोप्चेबाट बराहक्षेत्रसम्म पानीमा सञ्चालन हुने बोट सञ्चालनले स्थानीय नागरिकको आवतजावत सहज बनेको छ । जलयात्रामार्फत धरान, इटहरी, विराटनगरलगायत तराईका सहरसँग दक्षिणी भेगका नागरिकको दूरी छोटिएको हो ।
दूधकोशी र अरुणजस्ता ठूला नदीमा पुल नहुँदा वर्षौँदेखि स्थानीयवासी आवतजावतमा समस्या झेल्दै आएका थिए । अहिले अरुण नदीमा बोट सञ्चालन भएपछि दैनिक यात्रामा सहजता आएको छ ।
बोट सञ्चालन भएपछि तराईका सहर पुगेर सोही दिन घर फर्किन सकिने अवस्था बनेको स्थानीय इन्द्र थापाले बताउनुभयो । भिरालो बाटो हुँदै तीनदेखि चार घण्टा पैदल हिँडेर चतरा पुग्नुपर्ने बाध्यता रहेको अवस्थामा जलयात्राले निकै सहज बनाएको उहाँको भनाइ छ । जलमार्गबाट करिब १९ किलोमिटर दूरी २० देखि २५ मिनेटमै पार गर्न सकिने उहाँको भनाई रहेको छ ।
बराह क्षेत्रसम्म जलयात्रा गरेको रु ५०० भाडा लाग्छ । अरुण नदीमा पानी जेटबोट सञ्चालन भएपछि बिरामीलाई छिट्टै तराईका ठूला अस्पतालमा पुर्याउन पनि सहज भएको स्थानीय मिलन राईले बताउनुभयो । हतुवागढीबाट भोजपुर सदरमुकाम हुँदै लेगुवा–हिले–धनकुटा भएर तराई झर्न करिब २०० किलोमिटर दूरी पार गर्नुपर्ने भएकाले दक्षिणी भेगका नागरिकका लागि जलमार्ग निकै उपयोगी बनेको राससले जनाएको छ ।