पात्रो

रेडियो

समाचार खोजी

नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीको ५४ औं वार्षिकोत्सव सम्पन्न

साझा अर्थ संवाददाता ३१ भदौ २०८१, सोमवार

नेपाल सरकारको पूर्ण स्वामित्व रहेको नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडले स्थापनाको ५४ औं वार्षिकोत्सव मनाएको छ ।

कम्पनीका अध्यक्ष छपिराज पन्तको सभापतित्व एवं उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको प्रमुख आतिथ्यतामा ५४औं वार्षिकोत्सव मनाइएको हो ।  

नयाँ बानेश्वर स्थित द एभरेष्ट होटलमा आयोजित वार्षिकोत्सव समारोहमा प्रमुख अतिथी मन्त्री भण्डारीले ५४ औं वर्षको समय अवधिमा कम्पनीले धेरै आरोह अवरोध पार गरेको बताए । कम्पनीले आगामी दिनमा विजनेश प्लान बनाएर अघि बढ्नुपर्ने धारणा मन्त्री भण्डारीले राखे ।

 

त्यस्तै कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले कम्पनीले थप सेवा विस्तार गर्नेपर्नेमा जोड दिए । कम्पनीलाई चुस्त दुरुस्त बनाउन सबैको साथ, सहयोग आवश्यक रहेको बताउँदै उनले संस्थागत पुर्नसंरचना गरी शाखा पनि विस्तार गर्नुपर्नेमा उनले जोड दिए ।

कम्पनीका अध्यक्ष छपिराज पन्तले स्थापनाको ५४ औं वर्षमा आईपुग्दा कम्पनी सञ्चालन, व्यवस्थापन र कार्य सम्पादनलाई सहज र प्रभावकारी बनाउने यात्रामा निरन्तर सहयोग, समन्वय र सहकार्य गर्ने निकायहरुप्रति हार्दिक आभार व्यक्त गरे । आगामी दिनमा कम्पनीले नेपालको आयात निर्यात व्यापार, गोदाम सञ्चालन एवं पारवहन सहजीकरणको क्षेत्रमा अझै विशिष्ट र परिष्कृत भूमिका खेल्ने प्रतिवद्धता जनाए ।  

त्यस्तै, कार्यक्रममा कम्पनीका महाप्रबन्धक प्रकाश प्रसाद पोखरेलले व्यावसायिक योजना निमार्ण गरी कम्पनीलाई अघि बढाउने बताए । हल्दिया स्थित लिज जमिनमा कोइला भण्डारका लागि पूर्वाधार निमार्ण सुरुवात गर्ने, कोलकत्ता पोर्ट स्थित लिज जमिनमा पूर्वाधार निमार्णमा नीजि लगानी साझेदारी आव्हान गर्ने, कोलकत्तादेखि नेपालसम्म ट्रक ढुवानी सेवा सञ्चालनका लागि विजनेश मोडल तयार गर्ने योजना रहेको उनले बताए ।  

वार्षिकोत्सवको अवसरमा दुई जना कर्मचारीलाई दीर्घ सेवा पदक प्रदान गरिएको छ । ३७ वर्षदेखि संस्थामा कार्यरत हरिनारायण चौधरी र ३६ वर्षदेखि कार्यरत नरेन्द्र चौधरी सम्मानित भएका छन् । त्यस्तै आयात र निर्यातमा उल्लेख्य योगदान गर्ने ५ वटा संस्थालाई सेवाग्राही सम्मान प्रदान गरिएको थियो ।

नेपालबाट समुद्रपारका मुलुकहरुमा निकासी हुने तथा ती मुलुकहरुबाट पैठारी हुने सामानहरुको निमित्त पारवहन सम्बन्धी सेवा सुविधाहरु प्रदान गर्ने उद्देश्यले २०२८ भाद्र ३० गते कम्पनीको स्थापना भएको थियो ।

भारतको कम्पनी ऐन, १९५६ अन्तर्गत विदेशी कम्पनीको रुपमा भारतमा समेत दर्ता भइ निरन्तर सेवा प्रवाह गर्दै आएको यस कम्पनीको केन्द्रीय कार्यालय, शाखा र उपशाखा गरी ८ वटा कार्यालयमार्फत सेवा प्रवाह गरिरहेको छ ।  

227 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ