काठमाडौँः सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आइपिओ बाँडफाँड भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा मंगलबार बिहान आइपिओ बाँडफाँड गरिएको हो ।
कम्पनीले गत माघ १८ गतेदेखि २१ गतेसम्म सर्वसाधारण लगानीकर्ताहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित ५ करोड ७२ लाख ४३ हजार १०० रुपैयाँ बराबरको ५ लाख ७२ हजार ४३१ कित्ता शेयर निष्काशन गरेको थियो । सो निष्काशनमा कुल २४ लाख ५२ हजार ६०२ जनाले २ करोड ६१ लाख ३२ हजार ८०० कित्ता शेयरका लागि आवेदन दिएका थिए । जसमध्ये २४ लाख ११ हजार ९९२ आवेदन स्वीकृत भएको छ भने बाँकी आवेदन रद्द भएका छन् ।
गोलाप्रथा प्रक्रियामार्फत ५७ हजार २४३ जनाले १०-१० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन् । यसरी बाँडफाँड गर्दा बाँकी रहेको १ कित्ता शेयर सोही लगानीकर्तामाझ बाँडफाँड गरिएको थियो । यस अनुसार १ जना लगानीकर्ताले थप एक कित्ता अर्थात कुल ११ कित्ता शेयर प्राप्त गरेको छ ।
कम्पनीले सञ्चालन गरेको ११ मेगावाटको माथिल्लो तादी खोला जलविद्युत आयोजनाको कुल लागत २ अर्ब ३६ करोड ८४ लाख ४० हजार रहेको छ भने प्रतिमेगावाट लागत २१ करोड ५३ लाख १२ हजार ७२७ रहेको छ ।
आईपीओको नतिजा सिडीएसीको आइपिओ रिजल्ट र मेरोशेयरको वेभसाइटमा हेर्न सकिने छ ।