काठमाडौं। नेपाल टेलिकमले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
विवरणअनुसार कम्पनीको सञ्चालन आय सामान्य रूपमा बढे पनि समग्र आय तथा मुनाफामा गिरावट देखिएको छ।
कम्पनीको कुल सञ्चालन आय दोस्रो त्रैमासिकसम्म रु. १७ अर्ब २९ करोड ९७ लाख पुगेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा १.७३ प्रतिशतले बढी हो।
तर कुल आय भने रु. १९ अर्ब २२ करोड ७२ लाख मात्र रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा १.५ प्रतिशतले घटेको देखिन्छ।
मुनाफातर्फ हेर्दा कम्पनीको इ बी लाईटीडीए रु. ९ अर्ब ७७ करोड रहेको छ, जुन गत वर्षभन्दा २.६ प्रतिशतले कम हो । त्यस्तै कर अघिको मुनाफा रु. ५ अर्ब ९१ करोड पुगेको छ, जुन ४.५९ प्रतिशतले घटेको हो।
सबैभन्दा बढी असर खुद मुनाफामा परेको छ। दोस्रो त्रैमासिकसम्म कम्पनीको खुद मुनाफा रु. ४ अर्ब १६ करोड मात्र रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा १२.९८ प्रतिशतले कमी हो। कम्पनीको वार्षिकीकरण गरिएको प्रति शेयर आम्दानी रु. ४६.२७ कायम भएको छ।
कम्पनीका अनुसार ओटीटी सेवाको बढ्दो प्रयोगका कारण अन्तरआवद्धता तथा भ्वाइस वा एसएमएस सेवाबाट हुने आम्दानीमा गिरावट आएको छ। साथै ब्याजदर घट्नु र लगानीको मूल्य परिवर्तनका कारण ब्याज आय करिब ३२ प्रतिशतले घटेको छ।
यता दुर्गम क्षेत्रमा सेवा विस्तार, दररेट कटौती, कर्मचारी बीमा तथा पेन्सन दायित्व वृद्धि लगायत कारणले कर्मचारी खर्च ११.५ प्रतिशतले बढेको छ। इम्पेयरमेन्ट खर्च तथा चालु करमा समेत उल्लेख्य वृद्धि हुँदा नाफामा थप दबाब परेको कम्पनीले जनाएको छ।
यद्यपि विदेशी मुद्राको सटही दर परिवर्तनका कारण विदेशी मुद्रा सटही नाफा करिब १५० प्रतिशतले बढेको सकारात्मक पक्ष देखिएको छ।
समग्रमा सञ्चालन आय स्थिर रहे पनि खर्च वृद्धि, ब्याज आयमा गिरावट र ओटीटी सेवाको प्रभावका कारण नेपाल टेलिकमको दोस्रो त्रैमासिक वित्तीय प्रदर्शन कमजोर देखिएको छ।