नेपालको एतिहासिक र पर्यटकीय नगर जिरीको सौन्दर्यलाई अझ बढि उजागर गर्ने उदेश्यले विविध कार्यक्रम आयोजना गर्दै आईएको छ । यसै सन्दर्भमा गत वर्ष दोश्रो जिरी महोत्सव आयोजना गरिएको थियो । सो महोत्सवमा नेपालका ख्यातिप्राप्त ६ जना कलाकारहरु जिरी पुगेर महोत्सवमा स्थलगत कला कार्यशालामा सहभागी भएका थिए । कलाकारहरुले ३ दिनको जिरी बसाईका क्रममा देखेका भोगेका र अनुभव गरेका कुरालाई काठमाडौंमा समेत आएर कलाकृति सृजना गरे । तिनै कलाकृतिहरुको संगालो हो— ‘क्यानभासमा जिरी’ चित्रकला प्रदर्शनी ।
विशेषतः पर्यटकहरुमाझ नेपालको स्विटजरल्याण्ड भनेर चिनिएको जिरीको प्राकृतिक सौन्दर्य, यहाँको जनजीवन, संस्कृति, वास्तुकला र सम्पदाहरुलाई कलाकारहरुले क्यानभासमा उतारेका छन् ।
यो प्रदर्शनीमा जम्मा ३६ थान कलाकृति प्रदर्शनीमा राखिएकाछन् । जिरीको भेषभुषा, संस्कृतिका साथै बहुसांस्कृतिक परिचय बोकेको जिरीको जनजीवन र संस्कृतिक पक्ष पनि यो प्रदर्शनमा समेटिएका कलाकृतिमा भेट्न सकिन्छ ।

कुनै बेला सगरमाथाको प्रवेशद्वारका रुपमा परिचित जिरी यतिबेला पर्यटक कुरेर बसेको छ । आफ्नो प्राकृतिक र भौगोलिक सौन्दर्य देखाउन आतुर छ । यहाँको सांस्कृतिक विविधता र जिरेल सहितको मिश्रित जनजीवनले स्वदेशी र विदेशी पाहुनालाई स्वागत गर्न आतुर छ । यहाँका ताल तलैया, झरना, मठ मन्दिर, गुम्बा, प्राकृतिक उद्यानहरु, हिमाली भुभागका हिँउ, याक आदिले तपाईंलाई पर्खिरहेकाछन् । अमुल्य जडिबुटीहरुले लहराउदै बोलाईरहेका छन् । जिरीको वास्तुकला र मौलिक संस्कृतिहरुले आमजनलाई खुला आह्वान गरिरहेका छन् । यसै कारण जिरीको सांस्कृतिक र भौगोलिक विविधतासँग तपाईंहरुलाई परिचित गराउने यहाँको सौन्दर्यलाई उजागर गर्ने उदेश्य सहित यो प्रदर्शनीको आयोजना गरिएको हो ।
प्रदर्शनीमा ६ जना कलाकारहरु केशवराज खनाल, किशोर रानाभाट, लिलाधर केसी, मोहन शिवाकोटी, प्रकाश मिजार र शिव शिर्पाली सहभागी छन् । कलाकारले एक्रेलिक र जलरङ९वाटर कलर०को प्रयोग गरि चित्र सृजना गर्नुभएको छ । कार्यशाला र प्रदर्शनीमा कलाकारहरुको संयोजन केशवराज खनालले गर्नुभएको हो । प्रदर्शनी २०८१ साल भदौ २८ गते देखि भदौ ३० गते सम्म उमोजा क्याफे, एन।बि सेन्टर नयाँ बानेश्वरमा संचालनमा रहनेछ ।
साझा अर्थ संवाददाता