साउन महिनामा १ खर्ब ७७ अर्ब ४१ करोड रुपैयाँको रेमिट्यान्स भित्रियो।
यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा २९.९% वृद्धि हो।
अघिल्लो वर्ष: १ खर्ब ३६ अर्ब ६० करोड।
अमेरिकी डलरमा पनि रेमिट्यान्स २५% ले वृद्धि भई १ अर्ब २७ करोड अमेरिकी डलर पुगेको छ।
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा नेपालमा रेमिट्यान्स आप्रवाह झण्डै ३० प्रतिशतले वृद्धि भई १ खर्ब ७७ अर्ब रुपैयाँ नाघेको छ। नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार, साउन महिनामा रेमिट्यान्स आप्रवाह २९.९ प्रतिशतले बढ्दै १ खर्ब ७७ अर्ब ४१ करोड रुपैयाँ पुगेको हो।
अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स १७.७ प्रतिशत वृद्धि भई १ खर्ब ३६ अर्ब ६० करोड रुपैयाँ रहेको थियो। समीक्षा अवधिमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २५ प्रतिशतले वृद्धि भई एक अर्ब २७ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १५.८ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) एक खर्ब ९३ अर्ब ८५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय एक खर्ब ४८ अर्ब आठ करोड रहेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ४४ हजार ४६६ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २३ हजार ६४४ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ३६ हजार ९२८ र २२ हजार ६४७ रहेको थियो ।
राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति १.६८ प्रतिशत रहेको छ । कुल विदेशी विनिमय सञ्चिति २८ खर्ब छ अर्ब चार करोड रहेको छ । अमेरिकी डलरमा उक्त सञ्चिति २० अर्ब तीन करोड पुगेको छ । यस्तो सञ्चिति १६.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको छ ।
यस्तै चालु खाता ७८ अर्ब १४ करोड र शोधनान्तर स्थिति ८९ अर्ब ३० करोड रूपियाँले बचतमा रहेको छ । मुलुकको निर्यात ९५.७ प्रतिशत र आयात ११.४ प्रतिशतले बढेको राष्ट्र बैङ्कको तथ्याङ्कमा उल्लेख छ ।
नेपाल सरकारको खर्च ४६ अर्ब ३१ करोड रुपियाँ र राजस्व परिचालन ८४ अर्ब ४७ करोड रुपियाँ रहको छ । विस्तृत मुद्राप्रदाय ०.७ प्रतिशतले घटेको छ भने वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १२.५ प्रतिशतले बढेको छ ।
बैङ्क तथा वित्तीय संस्थाको निक्षेप परिचालन ०.८ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा ०.१ प्रतिशतले घटेको छ भने वार्षिक विन्दुगत आधारमा निक्षेपको बृद्धिदर १२.५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको बृद्धिदर आठ प्रतिशतले बढेको छ ।
बैङ्क तथा वित्तीय संस्थाहरुबीचको अन्तरबैङ्क कारोबारको भारित औसत ब्याजदर २.७५ प्रतिशत र ९१–दिन अवधि भएको ट्रेजरी बिलको भारित औसत ब्याजदर २.६५ प्रतिशत रहेको छ ।
यस्तै तथ्याङ्क अनुसार वाणिज्य बैङ्कहरुको निक्षेपको भारित औसत ब्याजदर ४.०२ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ७.७६ प्रतिशत रहेको छ ।