पात्रो

रेडियो

समाचार खोजी

नेतान्याहु–ट्रम्प भेटअघि इजरायल र हमासबीच अप्रत्यक्ष वार्ता पुनः सुरु हुने तयारी

साझा अर्थ संवाददाता २३ असार २०८२, सोमवार

दोहा, २३ असार (रासस/एएफपी) :   
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबीच वाशिंगटनमा हुने भेटअघि इजरायल र हमासबीच अप्रत्यक्ष वार्ता सोमबार कतारको राजधानी दोहामा पुनः सुरु हुने तयारीमा रहेको एक प्यालेस्टिनी अधिकारीले जानकारी दिएका छन् ।    
    
राष्ट्रपति ट्रम्पसँगको भेटका लागि अमेरिका जाँदै गरेका नेतान्याहुले यसपटकको वार्ता ‘सम्झौता अगाडि बढाउनका लागि उपयोगी हुने’ विश्वास व्यक्त गर्नुभयो । ट्रम्पले पनि आगामी साता हमाससँग सम्झौता हुने ‘अवसर राम्रो’ रहेको भन्दै आशावादी कुरा बताउनुभयो ।    
    
यसैबीच, दुई प्यालेस्टिनी स्रोतहरूले प्रस्तावित सम्झौतामा ६० दिने युद्धविराम रहने, त्यस अवधिमा हमासले १० जीवित बन्धक र केही शव इजरायललाई फिर्ता गर्ने र सट्टामा प्यालेस्टिनी बन्दीहरू रिहा गरिने उल्लेख रहेका बताएका छन् ।    
    
तर हमासले इजरायली फौजको फिर्ता, युद्धविरामको सुनिश्चितता र संयुक्त राष्ट्रसंघको अगुवाइमा राहत वितरण पुनः सुरु गर्नुपर्ने मागहरू पनि राखेको छ । नेतान्याहुले भने यी शर्तहरू ‘अस्वीकार्य’ रहेको बताउँदै आउनुभएको छ ।    
    
यसै क्रममा गाजामा जारी हिंसाले मानवीय अवस्था भयावह बनाएको छ । गाजाको सिभिल डिफेन्स निकायले सोमबार कम्तीमा १२ जनाको ज्यान गएको जनाएको छ । इजरायली सेनाले भने यसबारे कुनै प्रतिक्रिया दिएको छैन ।    
    
गाजावासी सलमान कुदुमले एएफपीलाई भन्नुभयो,“हामीलाई अब के गर्ने, कहाँ जाने थाहा छैन । दोहामा वार्ता गरिरहेका नेताहरूले युद्ध रोक्न दबाव दिनैपर्छ । अब हामीले सहन सक्दैनौं ।”    
युद्ध सुरु भएदेखि हालसम्म गाजामा ५७ हजार ५२३ भन्दा बढी मानिसको मृत्यु भइसकेको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ, जसलाई संयुक्त राष्ट्रसंघले विश्वसनीय मानेको छ ।    
हमासको अक्टोबर सन् २०२३ को आक्रमणमा एक हजार २१९ इजरायली नागरिकको मृत्यु भएको थियो ।     

117 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ