पात्रो

रेडियो

समाचार खोजी

खावाको कृषि पकेट क्षेत्रमा सुन्तलाको विरुवा वितरण

साझा अर्थ संवाददाता २३ असार २०८२, सोमवार

 
भोजपुर, २३ असारः भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ खावाको कृषि पकेट क्षेत्रमा सुन्तलाका बिरुवा वितरण गरिएको छ । वडा कार्यालयले यहाँ सुन्तलाखेती विस्तार गर्न किसानलाई अनुदानमा बिरुवा वितरण गरेको हो । केराबारी र रेम्बुकमा सुन्तलाको व्यावसायिक खेती प्रवद्र्धन गर्ने उद्देश्यले किसानलाई सुन्तलाको बिरुवा वितरण गरिएको वडाध्यक्ष सुनिल राईले बताउनुभयो ।    
    
कृषि पकेट कार्यक्रम अन्तर्गत वडाले रु दुई लाख विनियोजन गरेर किसानलाई बिरुवा वितरण गरेको वडाध्यक्ष राईले जानकारी दिनुभयो । वडामा भूगोल सुहाउँदो खेती प्रणालीमा जोड दिएको उहाँको भनाइ छ ।    
    
“किसानको आय वृद्धि र उत्पादन बढाउने उद्देश्यले व्यवस्थित योजनासहित अघि बढिरहेका छौँ” वडाध्यक्ष राईले भन्नुभयो,“हामीले व्यावसायिक कृषिमा लाग्ने किसानलाई लक्षित गरेर कृषि पकेट क्षेत्र निर्धारण गरेका छौँ । सोही आधारमा बर्सेनि कृषिमा लगानी गरिरहेका छौँ ।”    
    
वडाध्यक्ष राईका अनुसार ७५ प्रतिशत वडा र २५ प्रतिशत किसानको लागत साझेदारीमा बिरुवा खरिद गरिएको हो ।    
    
मागको आधारमा पहिलो चरणमा यहाँका ३६ जना किसानलाई एक हजार छ सय वटा सुन्तलाको बिरुवा वितरण गरिएको छ । पकेट क्षेत्रका करिब डेढ सय किसान सुन्तला खेतीमा आबद्ध छन् । वडाले व्यावसायिक कृषि विस्तारका लागि विभिन्न उपाय अवलम्बन गर्दै आएको जनाएको छ ।    
    
विगत दुई वर्षमा मझौले, चोलन्ती, खावा भञ्ज्याङ र रमिते क्षेत्रमा किबी खेती प्रवद्र्धन गर्न करिब दुई हजार किबीका बिरुवा वितरण भइसकेको छ । सुन्तला र किबी खेतीलाई निरन्तरता दिँदै वडाले रोग नियन्त्रण औँजार, औषधि, तालिम, जडीबुटी (जस्तै चिराइतो, सुतवा)तथा बीउ वितरण कार्यक्रमलाईसमेत अघि सारेको जनाएको छ ।    रासस  

117 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ