पात्रो

रेडियो

समाचार खोजी

जलविद्युत् लगानीमा तीव्रता: ऊर्जा मन्त्रालय र एचआईडीसीएलबीच कार्यसम्पादन करार

साझा अर्थ संवाददाता १५ असार २०८२, आइतवार

काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्य र हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) का प्रमुख कार्यकारी अधिकृत प्रजेश विक्रम थापाबीच आर्थिक वर्ष २०८२/८३ का लागि कार्यसम्पादन करारमा हस्ताक्षर भएको छ।

आईतबार आयोजित एक औपचारिक समारोहमा सम्पन्न यस करारमार्फत एचआईडीसीएलले चालु आर्थिक वर्षमा निर्धारण गरिएका कार्ययोजना र नतिजामूलक सूचकहरूका आधारमा आफ्नो कार्य सम्पादन गर्नेछ। ऊर्जा सचिव आचार्यले जलविद्युत् विकासमा एचआईडीसीएलको भूमिका अझ प्रभावकारी बनाउन कार्यसम्पादन करार महत्वपूर्ण भएको बताउँदै लगानीको वातावरण सुदृढ पार्न र सार्वजनिक विश्वास अभिवृद्धि गर्न पारदर्शिता अनिवार्य रहेको धारणा व्यक्त गर्नुभयो।

सम्झौताअनुसार कम्पनीले नीति, लगानी संरचना, परियोजना कार्यान्वयन, वित्तीय व्यवस्थापन, संस्थागत सुदृढीकरण तथा पारदर्शितामा विशेष ध्यान दिनेछ। सार्वजनिक–निजी साझेदारीको प्रवर्धन, आन्तरिक क्षमता अभिवृद्धि तथा जलविद्युत् क्षेत्रमा लगानी विस्तार यस वर्षका प्रमुख प्राथमिकता हुनेछन्।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत थापाले कार्यसम्पादन करारलाई संस्थागत जवाफदेहिता र परिणाममुखी नेतृत्वको आधारको रूपमा लिँदै, निर्धारित लक्ष्यहरू प्राप्त गर्न आफू पूर्णतः प्रतिबद्ध रहेको बताए। उनले एचआईडीसीएललाई नेपालको जलविद्युत् लगानीको मेरुदण्डका रूपमा विकास गर्न नीति, निष्पक्षता र परिणामलाई मार्गदर्शक तत्व बनाइने उल्लेख गरे।

सार्वजनिक संस्थानमा सुशासन र पारदर्शितालाई प्रवद्र्धन गर्ने प्रभावकारी अभ्यासको रूपमा कार्यसम्पादन करारलाई हेरिएको छ। यसले संस्थाको कार्यसम्पादनमा स्पष्टता, प्रभावकारिता र उत्तरदायित्व बढाउने अपेक्षा गरिएको छ।

123 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता