काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छ। सार्वजनिक विवरण अनुसार गभर्नर पौडेलसँग हाल साढे १७ करोड रुपैयाँभन्दा बढीको सम्पत्ति रहेको छ, जसमा सेयर लगानी सबैभन्दा ठूलो हिस्सा हो। पदभार ग्रहण गरेपछि सार्वजनिक जिम्मेवारी र पारदर्शिता सुनिश्चित गर्न उहाँले सम्पत्तिको विस्तृत विवरण सार्वजनिक गर्नुभएको हो।
गभर्नर पौडेलले सार्वजनिक गरेको विवरणअनुसार १४ करोड ५ लाख ६७ हजार रुपैयाँ बराबरको सेयर लगानी छ। उहाँ सात वटा कम्पनीमा संस्थापक (प्रवद्र्धक) सेयरधनी हुनुहुन्छ। ती कम्पनीहरूमा सानिमा बैंक, सानिमा हाइड्रोपावर, सानिमा मिडल तमोर हाइड्रो, ग्लोबेको प्रालि, संयुक्त ऊर्जा हाइड्रोपावर, चितवन इनर्जी तथा ग्लोबेको प्रालिमा श्रीमती प्रतिभा शर्माको नाममा समेत लगानी गरिएको उल्लेख छ।
गभर्नर पौडेलका अनुसार श्रीमती प्रतिभा शर्माको नाममा ललितपुरको सैँबुमा १ करोड ५५ लाख रुपैयाँ मूल्यको जग्गा तथा नवलपरासीको गैँडाकोटमा ६० लाख मूल्यको जग्गा रहेको छ। साथै, ४४ लाख रुपैयाँ मूल्यको सुजुकी ब्राण्डको चारपाङ्ग्रे गाडी पनि श्रीमतीको नाममा छ।
गभर्नर पौडेल दम्पतीको संयुक्त नाममा छ वटा बैंक खाता छन्, जसमा दुई वटा डलर खाता पनि छन्। सानिमा बैंकमा रहेको डलर खातामा ५,५१६ अमेरिकी डलर र बाँकी खाताहरूमा २६ लाख ८६ हजार रुपैयाँ बराबरको नगद बचत रहेको छ। उहाँले नगद सम्पत्ति स्वआर्जनबाट प्राप्त भएको उल्लेख गर्नुभएको छ।
गभर्नर पौडेलसँग ४५ तोला सुन र १५ लाख रुपैयाँ बराबरको हिरा रहेको विवरणमा उल्लेख गरिएको छ। सुनको मूल्य भने स्पष्ट गरिएको छैन। उहाँले सम्पत्तिको स्रोत स्वआर्जन र पैतृक दुवै भएको स्पष्ट गर्नु भएको छ।
साझा अर्थ संवाददाता