पात्रो

रेडियो

समाचार खोजी

दोलखामा बाग्मती प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

साझा अर्थ संवाददाता १७ जेठ २०८२, शनिवार

 

दोलखा:  बाग्मती प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि दोलखामा सुरु भएको छ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आज यहाँ आयोजित एक कार्यक्रमबीच प्रतियोगिताको उद्घाटन गर्नुभएको हो ।

    पूर्वगृहमन्त्रीसमेत रहनुभएका सिटौलाले सबै राजनीतिक दल र नेताहरू जनताप्रति उत्तरदायी र जवाफदेही हुनुपर्ने धारणा राख्नुभयो । लोकतान्त्रिक पद्धतिमा दलहरूबीच स्वस्थ प्रतिस्पर्धा स्वाभाविक रहेको जनाउँदै उहाँले नेतृत्वमा रहेका सबै जनताप्रति पारदर्शी र जवाफदेही बन्नुपर्नेमा जोड दिनुभयो । 

    नेता सिटौलाले दलसँगको समन्वय र सहकार्यमा संविधान संशोधन हुने बताउनुभयो । देशको अर्थतन्त्र चलायमान बनाउँदै मुलुकलाई समृद्ध बनाउन सबैबीच सहयोग र सहकार्यको भावना विकसित हुनुपर्नेमा जोड दिनुभयो ।

    नेपालले खेलकुदका क्षेत्रमा राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा ख्याति प्राप्त गर्दै आएको उल्लेख गर्दै नेता सिटौलाले सङ्घीय सरकारले पनि खेलकुद क्षेत्रका लागि आगामी आर्थिक वर्षमा बजेट वृद्धि गरेको जानकारी दिनुभयो । 

बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले खेलकुद क्षेत्रलाई प्रदेश सरकारले प्राथामिकताका साथ अघि बढाउँदै गएको बताउँदै आगामी आर्थिक वर्ष २०८२÷८३ मा खेलकुद क्षेत्रका लागि बजेट वृद्धि गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

    प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनको सभापतित्वमा सम्पन्न प्रतियोगिताको उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका नेता छिरिङ लामाले पनि आफ्नो धारणा राख्नुभएको थियो ।  

    तीन दिनसम्म सञ्चालन हुने प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, तेक्वान्दो, कराँते र उसु गरी छ विधाका खेल हुने प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव दीपक लामाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा प्रदेशका १३ जिल्लाबाट ११३ जना खेलाडी सहभागी छन् ।

    आजै नेता सिटौलाले नेपाली कांग्रेसको दोलखा भीमेश्वर नगरपालिका–६ स्थित चरिकोट बजारमा निर्माण हुन लागेको पार्टी कार्यालय भवनको शिलान्यास पनि गर्नुभयो । 

309 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ