पात्रो

रेडियो

समाचार खोजी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चार महिनामा ४२ हजार ६ सय उडान–अवतरण, ३१ लाख यात्रुले लिए हवाईसेवा

साझा अर्थ संवाददाता ९ जेठ २०८२, शुक्रवार

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए)को उडान अवधि बढेसँगै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान र हवाई यात्रुको संख्यामा वृद्धि भएको छ । धावनमार्गबाट ७५ मिटर क्षेत्रभित्रको जोखिमपूर्ण निर्माणका लागि २३ कात्तिक ०८१ देखि १८ चैतसम्म विमानस्थल दैनिक १६ घण्टा मात्रै सञ्चालन गरिएको थियो । त्यस्तै, १९ चैतदेखि थप दुई घण्टा सञ्चालन अवधि थपिएसँगै टिआइएमा उडान र यात्रु संख्या बढेको हो ।

टिआइएका अनुसार अप्रिल महिनामा मात्रै १२ हजार आठ सय ६१ उडान–अवतरण भएका छन्, जुन संख्या मार्चको तुलनामा एक हजार ८७ वटाले बढी हो । अप्रिलमा आठ लाख ६४ हजार नौ सय चारजना यात्रुले हवाईसेवा लिएका छन्, जुन संख्या मार्चको तुलनामा ३२ हजार ६ सय सातजनाले बढी हो । मार्चमा आठ लाख ३२ हजार दुई सय ९७ जनाले हवाईसेवा लिएका थिए ।

१९ चैतदेखि विमानस्थल दैनिक १८ घण्टा (बिहान ६ बजेदेखि राति १२ बजेसम्म) खुला भएसँगै ११ अन्तर्राष्ट्रिय उडान थपिएका छन् । १ अप्रिलदेखि लागू भएको समर सिजनमा दैनिक ५५ अन्तर्राष्ट्रिय उडान (अराइभल र डिपार्चर गरी ११०) भइरहेको टिआइएले जनाएको छ ।

यसअघि त्रिभुवन विमानस्थलमा दैनिक ४४ फ्लाइट (अराइभल र डिपार्चर गरी ८८) हुँदै आइरहेको थियो । उडान अवधि बढेसँगै अप्रिलमा हवाई सेवा र सेवा लिनेको संख्या चार महिनायताकै सबैभन्दा बढी भएको हो । 

अप्रिल महिनामा अन्तर्राष्ट्रियतर्फ दुई हजार आठ सय ९२ वटा उडान–अवतरण भएको छ । जसमा चार लाख ५७ हजार १० जनाले यात्रा गरेका छन् । त्यस्तै, आन्तरिकतर्फ नौ हजार नौ सय ६९ वडान उडान–अवतरण भएको छ, जसमा चार लाख सात हजार आठ सय ९४ जनाले यात्रा गरेका छन् ।

173 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ