पात्रो

रेडियो

समाचार खोजी

माथिल्लो सगरमाथा क्षेत्रमा हेलिकोप्टर उडान नगर्न गाउँपालिकाले पुनः दियो चेतावनी

साझा अर्थ संवाददाता १७ वैशाख २०८२, बुधवार

लुक्लाभन्दा माथिल्लो सगरमाथा क्षेत्रमा व्यावसायिक हेलिकोप्टर उडान नगर्न खुम्बु पासाङल्हामु गाउँपालिकाले हेलिकोप्टर तथा ट्रेकिङ व्यवसायीलाई चेतावनी दिएको छ ।  जनवरीदेखि नै माथिल्लो सगरमाथा क्षेत्रमा व्यावसायिक हेलिकोप्टर उडानहरू पूर्ण रूपमा प्रतिबन्ध गरिएको भन्दै खुम्बु पासाङल्हामु गाउँपालिले अटेर नगर्न हेलिकोप्टर कम्पनहिरुलाई चेतावनी दिएको छ ।

गाँउ पालिकाले सूचना जारी गर्दै भनेको छ , ‘सूचनाको उल्लंघन गरी रेस्क्यु, कार्गो र माउन्टेन फ्लाइटबाहेकका अन्य कुनै पनि व्यावसायिक हेलिकोप्टर उडान गरेमा त्यसबाट सिर्जना हुन सक्ने सबै परिस्थितिको जिम्मेवारी सम्बन्धित हेलिकोप्टर व्यवसायी, प्याकेज बिक्री गर्ने पर्यटन व्यवसायी र प्याकेज खरिद गर्ने पर्यटक स्वयंले भोग्नुपर्नेछ ।’ 


‘हामीले १ जनवरीदेखि नै उडानमा पूर्ण रूपमा प्रतिबन्ध लगाएका थियौँ, तर पहिलाको सूचनालाई अटेर गरेपछि पुनः सूचना जारी गरेर ध्यानाकर्षण गराइएको हो,’ मेयर शेर्पाले भने, ‘सगरमाथा क्षेत्रमा अव्यवस्थित हेलिकोप्टर उडानमा पहिलाभन्दा केही कम भएको छ, तर जति हुनुपर्ने त्यति भएको छैन, व्यवसायीले अटेर गरेर प्रतिबन्ध लगाएका उडानहरू पनि सगरमाथा क्षेत्रमा गरिरहेको देखिन्छ ।’

खुम्बु क्षेत्रभित्र अव्यवस्थित हेलिकोप्टर उडानका कारण वन, वातावरण, जैविक विविधता, स्थानीय व्यापार र पर्यटकीय गतिविधिमा नकारात्मक असर परेको हुँदा स्थानीय नागरिकको माग र संरक्षणका दृष्टिले अव्यवस्थित हेलिकोप्टर उडानमा प्रतिबन्ध लगाएको गाउँपालिका कार्यालयको जिकिर छ । 

सन् २०२५ को सुरुवातमा सगरमाथा राष्ट्रिय निकुञ्जले पनि नाम्चेभन्दा माथिल्लो भेगमा व्यावसायिक हेलिकोप्टर उडानमा प्रतिबन्ध लगाएको थियो । तर, चौतर्फी आलोचना र माथिबाट दबाब सिर्जना भएपछि निकुञ्ज कार्यालय उडान प्रतिबन्ध लगाउने निर्णयबाट पछाडि हटिसकेको छ ।

सिजनका वेलामा अधिकांश हेलिकोप्टर उडान खुम्बु क्षेत्रमा केन्द्रित हुने गर्छन् । हेलिकोप्टर व्यवसायीलाई सगरमाथा चढ्न र हेर्न जाने पर्यटकलाई बोक्न भ्याइनभ्याई हुने गर्छ । सम्पूर्ण हेलिकोप्टरले वर्षभरिमा गर्ने आम्दानीमध्ये ६५ प्रतिशतभन्दा बढी सगरमाथा क्षेत्रबाट हुने गरेको नेपाल वायुसेवा सञ्चालक संघको जिकिर छ ।

 

215 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ