पात्रो

रेडियो

समाचार खोजी

पाँच बर्षमा २४ खर्बको परियोजना सम्झौता गर्ने लगानी बोर्डको लक्ष्य

साझा अर्थ संवाददाता १५ वैशाख २०८२, सोमवार

लगानी बोर्ड नेपाल (आइबिएन)को रणनीति तथा व्यावसायिक योजना ०८१/८२–०८४/८५को अन्तिम मस्यौदा स्वीकृत भएको छ । आइतबार बसेको बोर्डको ६१औँ बैठकले झन्डै २४ खर्बको परियोजना सम्झौता र १४ खर्ब लगानी स्वीकृत गर्ने लक्ष्यसहितको रणनीतिक तथा व्यावसायिक योजनाको मस्यौदा स्वीकृत गरेको हो । बोर्डअध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीको अध्यक्ष्तामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले कार्यालयले तयार परेको योजनाको अन्तिम मस्यौदा स्वीकृत गरेको हो । 

बोर्डले तयार गरेको रणनीतिक तथा व्यावसायिक योजनाको अन्तिम मस्यौदामा अमेरिकी डलर १७।९२ अर्बबराबरका ४२ वटा परियोजनाको परियोजना सम्झौता गर्ने, अनुमानित लागत अमेरिकी डलर ५।५५ अर्बबराबरका अधिकतम १४ परियोजना निर्माण, अनुमानित लागत अमेरिकी डलर ८।९५ अर्बबराबरका अधिकतम ११ परियोजना सञ्चालन र अनुमानित लागत अमेरिकी डलर १०।९ अर्बबराबरका ९२ वटा निजी लगानीका परियोजनाको लगानी स्वीकृत गर्ने लक्ष्य राखेको छ ।

उक्त बोर्ड बैठकले सो योजनाको कार्यान्वयनका लागि आवश्यक पर्ने विभिन्न निर्देशनालयसहितको संगठन संरचनाको खाकाअनुरूप कार्यान्वयन प्रक्रिया अघि बढाउने निर्णयसमेत गरेको बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी दिए । बैठकले उक्त खाकालाई आधार मानी लगानी बोर्डको संगठन तथा व्यवस्थापन सर्वेक्षणको कार्यलाई यथासक्य चाँडो सम्पन्न गर्न कार्यालयलाई निर्देशन दिने निर्णय गर्‍यो । 

बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री तथा बोर्डका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारी, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, मुख्यसचिव एकनारायण अर्याल, राष्ट्रिय योजना आयोगका सदस्य डा। प्रकाशकुमार श्रेष्ठलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति रहेको थियो । 

224 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता