sajhaartha.com १० पुष २०८१, बुधवार
१० पुष २०८१, बुधवार
25th, December 2024, Wednesday
ताजा खबर

पोखरा विमानस्थलको करिब २६ अर्ब ऋण अनुदानमा परिणत गर्न चीनसँग सरकारको आग्रह

७ भदौ २०८१, शुक्रवार साझा अर्थ संवाददाता
153
Shares

सरकारले पोखरा अन्तरराष्ट्रिय विमानस्थल निर्माण गर्दा लिएको ऋणलाई अनुदानमा परिणत गर्न चिनियाँ पक्षलाई आग्रह गरेको छ । 

अर्थ मन्त्रालयले ऋणलाई अनुदानमा परिणत गर्न आग्रह गर्दै चिनियाँ पक्षलाई पत्र लेखेको छ । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थ मन्त्रालय अन्तरराष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्माले सो पत्र चीन अन्तरराष्ट्रिय विकास सहयोग निकायका उपाध्यक्ष याङ वेईकुनलाई हस्तान्तरण गर्नु भएको हो । 

पत्र हस्तान्तरण अघि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चीन नेपालको असल छिमेकी भएको र नेपालको अर्थतन्त्रको अवस्थालाई विशेष ध्यान दिंदै पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल निर्माण गर्दा लिइएको ऋणलाई अनुदानमा बदल्न चिनियाँ पक्षलाई आग्रह गरेका थिए। उनले नेपाल सरकारले गरेको आग्रह चिनियाँ पक्षबाट पूरा हुने पनि आशा राखेको बताए । 

सो अवसरमा अर्थ मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरे, नेपालका लागि चीनका राजदूत चेन सोङ लगायत उपस्थित थिए ।पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलका लागि सरकारले चीनको एक्जिम बैंकबाट करिब हालको विनिमय दर अनुसार करिब २५ अर्ब ८८ करोड रुपैयाँ  ऋण लिने सम्झौता  गरेको थियो । 

२०७२ साल चैत्र ८ गते पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल निर्माणका लागि ऋण सम्झौता भइ २०७३ साल पुस २७ गतेबाट निर्माण कार्य शुृरु भएको थियो । २०७९ साल पुस १७ गते पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको उद्घाटन गरिएको थियो । 

साझा अर्थ संवाददाता
७ भदौ २०८१, शुक्रवार

153

Shares

सम्बन्धित समाचार