काठमाडौं नेपाल राष्ट्र बैंकले २ फाइनान्स कम्पनी र ३ विकास बैंकलाई कारबाही गरेको छ । राष्ट्र बैंकले पोखरा फाइनान्स र जानकी फाइनान्सलाई न्यूनतम पुँजीकोष अनुपात नियामकीय मापदण्ड बमोजिम नरहेको भन्दै शीघ्र सुधारात्मक कारबाही गरेको छ ।
पोखरा फाइनान्सले अनिवार्य मौज्दात रकम कायम नगरे भन्दै ४६ हजार ७१८.२३ रुपैयाँ जरिवाना पनि तिर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ भने कार्यकारी अधिकृत रविचन्द्र गुरुङलाई ५ लाख जरिवाना पनि गरेको छ । मुक्तिनाथ विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक र सालपा विकास बैंक पनि राष्ट्र बैंकको कारबाहीमा परेका छन् ।
यस्तै, नारायणी डेभलपमेन्ट बैंकले न्यूनतम चुक्ता पुँजी र पुँजीकोष अनुपात कायम नगरेको, तोकिएको सीमा भन्दा बढी निक्षेप संकलन गरेको र एकल ग्राहक कर्जा सीमा भन्दा बढी कर्जा प्रवाह गरेको राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकले नारायणीको सञ्चालक समितिलाई न्यूततम चुक्ता पुँजी तथा पुँजीकोष अनुपात २०८२ असार मसान्तभित्र अनिवार्य कायम गर्न र निर्देशनहरु पालना गर्न लिखित आदेश दिएको छ ।
सालपा विकास बैंकले पनि तोकिएको न्यूनतम चुक्ता पुँजी हालसम्म पनि कायम नगरेको तथा तोकिएको चुक्ता पुँजी पुर्याउनका लागि दिइएका निर्देशनहरु पनि पालना नगरेको राष्ट्र बैंकले जनाएको छ । जसका लागि सालपाको सञ्चालक समितिलाई नसिहत दिइएको राष्ट्र बैंकले जानकारी गराएको छ ।
साझा अर्थ संवाददाता