पात्रो

रेडियो

समाचार खोजी

पाँचतारे होटल ईच्छाले ३० लाख कित्ता आइपीओ निश्कासन गर्ने

साझा अर्थ संवाददाता २८ चैत २०८१, बिहिवार



 मधेश प्रदेशको पहिलो पाँचतारे होटल ईच्छा लिमिटेडले सर्वसाधारणमा शेयर निष्काशन गर्न हिमालयन क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रवन्धक नियुक्ति गरेको छ । उक्त हस्ताक्षर कार्यक्रम होटलका संस्थापक अध्यक्ष ईच्छा बहादुर वाग्लेको उपस्थितिमा भएको हो । सम्झौतापत्रमा होटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रेवन्त प्रसाद धौभडेल र हिमालयन क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्तले हस्ताक्षर गरेका छन् ।

कम्पनीको अधिकृत पूँजी र २०० करोड र जारी पूँजी रु। १५० करोड रहेको छ। होटलले जारी पूँजीको २० प्रतिशत अर्थात र ३० करोड रकम बराबरको ३० लाख कित्ता शेयरको सर्वसाधारणमा शेयर निष्काशन गर्ने भएको हो ।

उक्त कार्यक्रममा निष्काशन कम्पनीका तर्फबाट सञ्चालक मुनसन वाग्ले, संस्थापक शेयरधनी लालकाजी खड्का, गोकर्ण खतिवडा, सञ्जोग बिक्रम कुवँर र बिक्री प्रवन्धक कम्पनीका प्रमुख सञ्चालन अधिकृत राम प्रसाद भट्टराईको समेत उपस्थिति रहेको थियो ।

नेपाल ल्याण्ड एण्ड हाउजिङ्ग एसोसियसनका पूर्व अध्यक्ष एवं समाजसेवी ईच्छा बहादुर वाग्लेले आफ्नै नाममा होटलको नाम राखी २०७४ सालमा भारतका प्रसिद्ध योग गुरु बाबा रामदेवबाट उद्घाटन गराएका थिए। सुरुमा चारतारे होटलको रुपमा सञ्चालनमा आएको होटलको व्यवसायीक प्रगति संगसंगै २०७९ सालमा मधेश प्रदेशकै पहिलो र एकमात्र पाँचतारे होटलको मान्यता प्राप्त गरेको हो।

यसै आर्थिक वर्षको श्रावण १ गतेदेखि पब्लिक कम्पनीको रुपमा समेत सञ्चालनमा आएको छ । शुरुमा व्यक्तिगत रुपमा स्वःलगानीमा सञ्चालनमा आएको उक्त होटलले चालु आर्थिक वर्षमा सर्वसाधारण तथा उच्च व्यवसायीक घरानाका व्यक्ति तथा कम्पनीहरु समेतलाई प्रवद्र्धकको रुपमा भित्र्याई हाल संस्थापक समूहको चुक्ता पूँजी रु। १२० करोड पुगेको छ ।

पाँच विगाहा भन्दा बढी क्षेत्रफल रहेको जग्गामा निर्मित उक्त होटलमा सुविधा सम्पन्न १०० वटा कोठाहरु रहेका छन् भने स्वीमिङ्ग पुल, क्यासिनो, स्पा, ब्याङक्वेट, क्लब हाउस आदि समेत सुविधाहरु रहेका छन् । चालु आर्थिक वर्षमा नै साधारण सभाबाट प्रस्ताव पारित गरी नेपाल धितोपत्र बोर्डमा सार्वजनिक निष्काशनको स्वीकृतिकालागि आवेदन दिने र आगामी आर्थिक वर्ष भित्रमा सर्वसाधारणमा शेयर निष्काशन गर्ने योजना रहेको कम्पनीका प्रमुख प्रवद्र्धक ईच्छा बहादुर वाग्लेले जानकारी दिए ।

हाल सञ्चालनमा रहेको मिनी क्यासिनोलाई पाँचतारे होटल स्तरको क्यासिनो सञ्चालन गर्नकालागि छुट्टै भवनमा स्थानान्तरण गर्ने गरी भवन निर्माणको कार्य भईरहेको छ । होटललाई अन्तर्राष्ट्रिय स्तरमा समेत पहिचान गराउन भारतको प्रसिद्ध होटल व्यवस्थापन समूहलाई होटल सञ्चालनको जिम्मा दिने सम्बन्धमा छलफल करिब अन्तिम चरणमा पुगेको र केही दिनमा नै सम्झौता भईसक्ने पनि जानकारी दिए । त्यसैकालागि हाल होटलको रिनोभेसन तथा कोठाहरुको स्तरीकरण गर्ने कार्य शुरु गरिएको र छिट्टै नै अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न होटलमा परिणत हुने जानकारी दिए ।

भारतको मुख्य गरी विहार प्रदेशका नागरिकका लागि डेस्टिनेशन म्यारिज हवको रुपमा परिचित यस होटलले वर्षेनी ३० देखि ४० वटा वैवाहिक कार्यक्रम होटलमा गर्ने गरेको छ । भारतको सीमानाबाट करिब १९ कि। मि। टाढा रहेको यस होटल भारतिय नागरिकहरुकालागि क्यासिनो खेल्नकालागि हव नै बनेको छ । काठमाण्डौं–निजगढ फास्ट ट्रयाक सम्पन्न भएपछि सडक मार्गबाट नेपाल आउने भारतीय नागरिकहरुको संख्या बढ्ने, हवाईमार्गबाट आउने यात्रुहरुलाई पनि १ कि। मि। को दुरीमा रहेको सिमरा एअरपोर्टबाट सहज हुने र भारतको रक्सोलमा समेत एअरपोर्ट निर्माणको तयारी भईरहेकोले भारतिय नागरिकहरुलाई हवाई यातायातबाट नेपाल आउँदा जाँदा ट्रान्जिटको रुपमा बस्नका लागि यो होटल केन्द्रबिन्दु बन्ने भएकाले पनि होटलको स्तरोन्नती गरी पाँचतारे होटलमा परिणत गरिएको वाग्लेले बताए।

263 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ