काठमाडौं । क्याथे प्यासिफिक एयरलाईन्सले काठमाडौँदेखि हङकङ दैनिक एक उडान भर्ने भएको छ । नेपालमा सन् २००७ को डिसेम्बर २ देखि ड्रागन एयरलाईन्सले उडान भर्न सुरु गरेपनि पछिल्लो समय भने सोही कम्पनीको क्याथे प्यासिफिक एयरलाईन्सले हप्ताको पाँच पटक उडान भर्दै आएको थियो ।
क्याथे प्यासिफिक एयरलाईन्सकी नेपाल प्रमुख जुनु मलेखुले आगामी मार्च ३१ देखि हङकङ र नेपालबीचको उडानलाई थप गरी दैनिक एक उडान भर्न लागेको जानकारी दिए । उनले नेपाल आउने तथा हङकङ हुँदै अन्य मुलुक जाने यात्रुलाई थप सुविधा प्रदान गर्नका लागि उडान थप गर्न लागिएको बताए ।
क्याथे प्यासिफिकले मङ्गलबार राति उत्कृष्ट कार्गो तथा ट्राभल कम्पनीलाई सम्मान गर्न आयोजित कार्यक्रममा मलेखुले कार्गो र ट्राभल कम्पनीको साथ र सहयोगका कारण आफूहरुले थप सेवा विस्तार गर्न सफल भएको बताए ।
कार्यक्रममा क्याथे प्यासिफिकका दक्षिण एसिया, मध्यपूर्व र अफ्रिकाका क्षेत्रीय महाप्रबन्धक राकेश राईकारले क्याथेले सन् २०२५ मा थप नयाँ गन्तव्यमा उडान भर्नेगरी आफ्नो सेवा विस्तार गर्न लागेको बताए । उक्त एयरलाईन्सले आगामी २४ अप्रिलदेखि हङकङदेखि संयुक्त राज्य अमेरिकाको डलाससम्म उडान भर्न लागेको छ ।
यस्तै, ट्राभल्स कम्पनीतर्फ ग्रीनल्याण्ड होलिडे, सिरिन ट्राभल, रुपाकोट इन्टरनेशनल ट्राभल, दाभिन्ची ट्राभल, सुमेघ ट्राभल, प्रभास ट्राभल एण्ड टुर्स प्रालि, सी लिंक्स ट्राभल्स एण्ड टुर्स प्रालि, सेभेन स्टार इन्टरनेशनल ट्राभल एण्ड टुर्स प्रालि, वोन ट्राभल प्रालि र ओशो वल्र्ड ट्राभल नेपाललाई सम्मान गरिएको थियो ।
साझा अर्थ संवाददाता