चालू आर्थिक वर्ष ०८१/८२ को सात महिनामा आठ अर्ब ५९ करोड एक लाख रुपैयाँ बराबरको जिवन बिमा पोलीसी सेरेन्डर भएको छ । नेपाल बिमा प्राधिकरणका अनुसार १४ जीवन बिमा कम्पनीमार्फत ६२ हजार पाँच सय २३ जना बिमितले सोबराबरको बिमालेख सरेन्डर गरेका हुन् ।
गत आव ०८०/८१ मा १४ अर्ब ५० करोड १२ लाखबराबरको एक लाख १३ हजार नौ सय ७६ वटा बिमालेख सरेन्डर भएका थिए । समीक्षा अवधिमा एलआइसी नेपालमा सबैभन्दा धेरै दुई अर्ब ५९ करोड ७९ लाख रुपैयाँको १५ हजार तीन सय ६२ वटा बिमालेख सरेन्डर भएका छन् । धेरै बिमालेख सरेन्डर हुनेमा दोस्रो नम्बरमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । उक्त कम्पनीमा दुई अर्ब ३६ करोड २४ लाख रुपैयाँबराबरको १४ हजार २५ वटा बिमालेख सरेन्डर भएका छन् । यसैगरी, तेस्रो स्थानमा भने सरकारी स्वामित्वको राष्ट्रिय जीवन बिमा कम्पनी देखिएको छ । तथ्यांकअनुसार सात महिनामा उक्त कम्पनीमा ७८ करोड ६४ लाख रुपैयाँबराबरको आठ हजार चार सय ९१ वटा बिमालेख सरेन्डर भएका छन् ।
यस्तै, नेसनल लाइफ इन्स्योरेन्समा ५५ करोड १५ लाख रुपैयाँबराबरको तीन हजार सात सय २०, एसियन लाइफ इन्स्योरेन्समा ५४ करोड १९ लाख रुपैयाँबराबरको पाँच हजार एक सय ११, सूर्यज्योति लाइफ इन्स्योरेन्समा ४६ करोड ९९ लाख रुपैयाँबराबरको तीन हजार चार सय ८३, हिमालयन लाइफ इन्स्योरेन्समा ३७ करोड ८१ लाख रुपैयाँबराबरको चार हजार एक सय ३७, मेट लाइफ इन्स्योरेन्समा २४ करोड १२ लाख रुपैयाँबराबरको दुई हजार ९५ र सानिमा रिलायन्स लाइफ इन्स्योरेन्समा १५ करोड ३६ लाख रुपैयाँबराबरको एक हजार ७७ वटा पोलिसी सरेन्डर भएका छन् ।
यस्तै, सिटिजन लाइफ इन्स्योरेन्समा १४ करोड ९१ लाख रुपैयाँबराबरको एक हजार ६ सय ६०, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्समा १२ करोड ४६ लाख रुपैयाँबराबरको आठ सय ८२, आइएमई लाइफमा १२ करोड ३१ लाख रुपैयाँबराबरको एक हजार ७३, रिलायबल नेपाल लाइफ इन्स्योरेन्समा ६ करोड ४३ लाख रुपैयाँबराबरको नौ सय ६५ र सन नेपाल लाइफ इन्स्योरेन्समा चार करोड ५५ लाख रुपैयाँबराबरको चार सय ४२ वटा पोलिसी सरेन्डर भएका छन् ।
साझा अर्थ संवाददाता