काठमाडौं । कान्ति बाल अस्पताललाई एक हजार शैयामा विस्तार गर्ने कार्यमा सहयोगका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आग्रह गर्नुभएको छ । नेपालका लागि जापानी राजदूत राजदूत तोरु मायदासँगको हालै भएको भेटका क्रममा मन्त्री पौडेलले बालबालिकाको उपचारका लागि विशिष्टिकृत अस्पताल भए पनि पर्याप्त पूर्वाधार नभएकाले विकास गर्ने सरकारको योजनामा साथ दिन जापान सरकारसँग आग्रह गर्नुभएको हो ।
भेटका क्रममा मन्त्री पौडेलले मन्त्रालयले घोषणा गरेको एक्सरे फिल्म प्रयोग निरुत्साहित गरेर डिजिटल वितरण योजनामा समेत जापान सरकारबाट साथ अपेक्षा गरेको बताउनुभएको थियो ।
त्यसक्रममा राजदूत मायदाले अस्पताललाई सघाउन सकारात्मक रहेको बताउनुभयो । राजदूत मायदाले जापान र नेपालबीच लामो सहयोग सहकार्य रहेको भन्दै मन्त्रालयका अनुरोधका पक्षमा सकारात्मक रहेको बताएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।
मन्त्री पौडेलले कान्ति बाल अस्पतालको क्षमता विस्तार गरेर बढी क्षमतामा प्रभावकारी बाल उपचार उपलब्ध गराउने योजना सार्वजनिक गर्नुभएको थियो । त्यसलाई सफल पार्न विभिन्न क्षेत्रसँग सहकार्य र संवाद भइरहेको छ । यसैक्रममा जापान सरकारसँग सहकार्यको विकल्पबारे खोजी भएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।
साझा अर्थ संवाददाता