१३२ केभीको ढल्केबर–लोहारपट्टी प्रसारण आयोजना सम्पन्न
विद्युत प्राधिकरणको करिब १ अर्ब १३ करोड रुपैयाँ लगानीमा आयोजना निर्माण
काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले धनुषाको ढल्केबरबाट महोत्तरीको लोहारपट्टीसम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको जनाएको छ।
ढल्केबर–लोहारपट्टी प्रसारण लाइन र लोहारपट्टी १३२ केभी सबस्टेसन निर्माण सम्पन्न गरी बुधबारबाट सञ्चालनमा (चार्ज) ल्याइएको हो।
धनुषा र महोत्तरीको विद्युत् आपूर्ति प्रणाली सुधार, बढ्दो विद्युत् माग व्यवस्थापन र विद्युत् आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन सरकार र विद्युत प्राधिकरणको करिब १ अर्ब १३ करोड रुपैयाँ लगानीमा आयोजना निर्माण गरिएको हो। डबल सर्किट प्रसारण लाइनको लम्बाइ २३ किलोमिटर छ । प्रसारण लाइनका लागि ९१ वटा टावर निर्माण गरिएका छन्।
सबस्टेसनमा १३२/३३ केभी, ३० एमभिए क्षमताका दुईथान पावर ट्रान्सफर्मर थान र १३२÷११ केभी, २२.५ एमभिए क्षमताको एक थान ट्रान्सफर्मर छन्। समग्रमा सबस्टेसनको क्षमता ८२.५ एमभिए छ ।
सबस्टेसनबाट विद्युत आपूर्ति सुरु भएपछि मुख्य रुपमा जनकपुर, जलेश्वर, गौशाला र यदुकुवा वितरण केन्द्रअन्तर्गतका करिब डेढ लाख ग्राहक लाभान्वित हुनेछन्। अब त्यस क्षेत्रको चुहावट कम हुने, न्यून भोल्टेज तथा छिनछिनमा विद्युत् विच्छेद (ट्रिपिङ) लगायतका समस्या समाधान भई समग्रमा विद्युत् आपूर्ति पर्याप्त, भरपर्दो र गुणस्तरीय हुने प्राधिकरण मधेस प्रादेशिक कार्यालयका निर्देशक मुनीन्द्र ठाकुरले बताए।
यसअघि उक्त क्षेत्रमा ढल्केबरबाट जनकपुरको मुजलिया हुँदै विद्युत् आपूर्ति हुँदै आएको थियो। लाइन लामो र क्षमताले नधान्दा न्यून भोल्टेज, ट्रिपिङलगायतका समस्या थिए।
स्थानीय रुपमा विद्युत आपूर्तिका लागि ३३ केभीका चार वटा फिडर निकाल्न सक्ने गरी संरचना तयार गरिएको छ। ३३ केभीका २ वटा फिडर जलेश्वर, १ वटा गौशाला र १ वटा जनकपुर क्षेत्रमा विद्युत् आपूर्तिका लागि प्रयोग गरिनेछ। यसमध्ये जनकपुरतर्फको १ वटा फिडर निर्माण सम्पन्न गरी चालू गरिएको छ।
लोहारपट्टी सबस्टेसन वरपरको क्षेत्रमा विद्युत आपूर्तिका लागि ११ केभीका ४ वटा फिडर लाइन निकाल्न सक्ने व्यवस्था गरिएको छ। त्यसमध्ये २ वटा फिडर निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको छ। प्रसारण लाइन आयोजना करिब ३ वर्षअघि सुरु गरिएको थियो।
125
Sharesपछिल्लो खबर
-
कर्णाली विकास बैंक समस्याग्रस्त घोषित
-
व्यावसायिक पशुपालनबाट वार्षिक १२ लाख आम्दानी
-
कजाकिस्तानमा ६७ यात्रुसहित उडेको विमान दुर्घटनाग्रस्त, २५ जना जीवितै उद्धार
-
एनसीएचएलको १६ औं वार्षिकोत्सव सम्पन्न
-
पाँच महिनामा सवा तीन लाख बैदेशिक रोजगारीमा, मंसिरमा मात्रै ८४ हजारले लिए श्रम स्वीकृति
-
ग्लोबल आइएमई बैंकद्वारा हाटबजार सञ्चालन