पात्रो

रेडियो

समाचार खोजी

निगम र जापान एयरलाइन्सबिच द्विपक्षीय सम्झौता

साझा अर्थ संवाददाता ८ फागुन २०८१, बिहिवार

 

नेपाल वायुसेवा निगम र जापान एयरलाइन्सबिच व्यापार विस्तारका लागि द्विपक्षीय आपसी सम्झौता भएको छ । सम्झौताबाट कनेक्टिङ फ्लाइटमार्फत नेपालबाट अमेरिका, क्यानडा, कोरियालगायत देशहरूमा यात्रा गर्न सहज हुनेछ ।

निगमको सीधा उडानमार्फत जापान पुगेका यात्रुहरू नारिता अन्तर्राष्ट्रिय विमानस्थल र त्यहाँबाट जापान एयरलाइन्सको कनेक्टिङ फ्लाइटमार्फत विभिन्न देशमा पुग्न सक्नेछन् । निगमको टिकटबाट जापान एयरलाइन्सको कनेक्टिङ फ्लाइटमार्फत विश्वभरको अन्तिम गन्तव्यसम्मका लागि यात्रु तथा ब्यागेज चेक–इन सुविधा प्राप्त हुने बताइएको छ । सोही नेटवर्क हुँदै विश्वभरिबाट पर्यटक सहज रूपमा नेपाल भ्रमणमा आउन सक्छन् । जापान एयरलाइन्सको विश्वभर कनेक्सन रहेको हुँदा यात्रुलाई सहजता हुने निगमको विश्वास छ । यसबाट निगमको व्यापार विस्तार हुनुका साथै समग्र देशको पर्यटन प्रवद्र्धन र विदेशी मुद्रा आर्जनमा टेवा पुग्ने विश्वास निगमको छ ।

दुई देशका राष्ट्रिय ध्वजावाहकमार्फत आपसमा व्यापार विस्तार हुने, यात्रा सहज र किफायती हुने, विश्वका विभिन्न देश र जापानकै विभिन्न आन्तरिक गन्तव्यमा निगमकै टिकटमा यात्रा गर्न सकिने निगमका प्रवक्ता रमेश पौडेलले बताए । उनले भने, ‘अब यात्रुहरू जापान हुँदै अमेरिका जान सक्छन्, त्यो रुटबाट अमेरिका जान छोटो पर्छ, जसले भाडा पनि कम लाग्नेछ, अरू थुप्रै देशमा यात्रा गर्न छिटो र सुलभ हुनेछ ।’ निगमले जापानमा सातामा तीन दिन आइतबार, मंगलबार र शुक्रबार नियमित उडान गर्दै आएको छ । जापानी पर्यटकलाई उच्चस्तरको सुविधासहित नेपाल भ्रमणका लागि आकर्षक टुर प्याकेज बनाउन सहज हुने निगमको विश्वास छ । योसहित निगमका प्यासेन्जर इन्टरलाइन पार्टनरसिप एग्रिमेन्ट गर्ने वायुसेवाको संख्या २५ पुगेका छन् । कार्गो इन्टरलाइन पार्टनरसिप एग्रिमेन्ट गर्ने वायुसेवाको संख्या २८ छ । 

128 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता