काठमाडौं । भारतको केन्द्रीय बैंकले करिब पाँच वर्षमा पहिलोपटक ब्याज दर घटाएको छ । भारतीय रिजर्भ बैंक (आरबिआई) ले वाणिज्य बैंकहरूलाई ऋण दिने आधार रेपो दर २५ आधार अङ्कले घटाएर ६.२५ प्रतिशत बनाएको हो ।
देशमा खुद्रा मुद्रास्फीति अहिले निकै कम भएको छ । डिसेम्बरमा महँगी दर चार महिनाकै न्यून ५।२२ प्रतिशतमा झरेको छ । यस्तो दर अझै पनि केन्द्रीय बैंकको मध्यम अवधिको ४ प्रतिशतको लक्ष्यभन्दा माथि छ । मूल्य दबाब कम हुँदै गएकोले अब आर्थिक वृद्धि हासिल गर्नेमा ध्यान केन्द्रित गर्ने भएको हो ।
आरबिआईका गभर्नर सञ्जय मल्होत्राले आफ्नो पहिलो मौद्रिक नीति समीक्षामा मुद्रास्फीति ‘२०२५–२६ मा थप मध्यम हुने अपेक्षा गरिएको’ र सेप्टेम्बर त्रैमासिकको न्यूनबाट सुधार हुने भए पनि यो गत वर्षको तुलनमा ‘धेरै तल’ रहेको बताए ।
‘विद्यमान वृद्धि–मुद्रास्फीति गतिशीलतालाई ध्यानमा राख्दा हालको समयमा कम प्रतिबन्धात्मक मौद्रिक नीति बढी उपयुक्त छ’, उनले भने ।
मल्होत्राले आफ्ना निवर्तमान गभर्नर शक्तिकान्त दासभन्दा कम कडा दृष्टिकोण अपनाएको देखिन्छ । दासले मुद्रास्फीतिसँग लड्न सन् २०२२ मे र सन् २०२३ फेब्रुअरीको बीचमा दरहरू २।५ प्रतिशत अङ्कले बढाएका थिए । बैंकले पछिल्लो पटक सन् २०२० मे महिनामा दरहरू घटाएको थियो ।
खाद्य पदार्थको उच्च मूल्य र कमजोर ज्याला वृद्धिबाट पीडित उपभोक्ताहरूको हातमा थप पैसा दिन सरकारले आफ्नो वार्षिक बजेटमा व्यापक आयकर कटौतीको घोषणा गरेको एक हप्ताभन्दा पनि कम समयमा आरबीआईको यो निर्णय आएको छ ।
पछिल्लो त्रैमासिकमा भारतको अर्थतन्त्र ५.४ प्रतिशतले बढेको छ । पछिल्लो ७ त्रैमासिकमा यो त्रैमास सबैभन्दा सुस्त देखिएको हो ।
साझा अर्थ संवाददाता