पात्रो

रेडियो

समाचार खोजी

होटेल बाराही ‘इको फुटप्रिन्ट’ सर्टिफाइड

साझा अर्थ संवाददाता ७ माघ २०८१, सोमवार

ट्राभल अपरेटर्स फर टाइगर (टफ्ट टाइगर)ले सस्टेनेबल प्राक्टिसमा उत्कृष्टता हासिल गर्ने कान्तिपथस्थित ‘होटेल बाराही काठमाडौं’लाई ‘इको फुटप्रिन्ट’ सर्टिफाइड गरेको छ।

 विभिन्न मापदण्डमा आधारित रहेर गरेको मूल्यांकनमा उत्कृष्ट रेटिङ प्राप्त गरेपछि टफ्ट टाइगरले सन् २०२४ सेप्टेम्बरदेखि सन् २०२७ अगस्टसम्मका लागि ‘आउटस्ट्यान्डिङ प्राक्टिस अकोमोडेसन प्रोभाइडर’का रूपमा होटेललाई उक्त प्रमाणपत्र प्रदान गरेको बाराही होटेलका महाप्रबन्धक रोशन सापकोटाले बताए।

टफ्ट टाइगरले इको फुटप्रिन्ट रेटिङमा चारवटा मापदण्ड समावेश गरेको थियो। रेटिङमा होटेलको वातावरणीय प्रभावलाई मध्यम मान्दै यसले आफ्नो सञ्चालनमा वातावरणीय र सामाजिक पक्षलाई प्रभावकारी रूपमा समावेश गरेको, निर्णय प्रक्रिया तथा कार्यक्रम सञ्चालन पनि मापदण्डअनुरूप नै भएको उल्लेख गरेको छ।

 टफ्ट टाइगरले पहिलो मापदण्डमा सामाजिक, वातावरणीय र आर्थिक पक्षअन्तर्गत वातावरणीय सचेतता, निर्माण र आन्तरिक डिजाइन, स्थानीय कार्यक्रममा सहभागिता, वातावरणसम्बन्धी कानुनको पालना र तालिमलगायतमा होटेलले गरेको गतिविधिलाई आधार मानेको थियो।

दोस्रो मापदण्डमा पारिस्थितिक अभ्यासअन्तर्गत होटेलले पानीको संरक्षणदेखि पुनः उपयोग, फोहोर व्यवस्थापन, ऊर्जा बचत र सुरक्षाका मापदण्डहरूको पालना कसरी गरेको छ भन्ने विषयलाई समावेश गरिएको थियो।

तेस्रो मापदण्डमा आर्थिक अभ्यासअन्तर्गत होटेलमा कार्यरत कर्मचारीको पारिश्रमिक र प्रोत्साहन, रोजगारीमा स्थानीयको सहभागिता, स्थानीय सिप र खानाको प्रवर्द्धन र स्थानीय उत्पादनको खपत होटेलले कसरी गरिरहेको छ भन्ने विषय समावेश गरेको थियो।

चौथो मापदण्डमा सामाजिक–सांस्कृतिक प्रभावअन्तर्गत होटेलले संस्थागत सामाजिक उत्तरदायित्व, स्थानीय शिल्प कौशल र सिपको प्रवर्द्धन गरेको सहयोगलाई आधार बनाएको थियो।

टफ्ट टाइगरका अनुसार मूल्यांकनका क्रममा फोहोर र प्रदूषण कम गर्न प्लास्टिकरहित बोतलको प्रयोग, जैविक रूपमा नष्ट हुने सामग्रीको प्रयोग, फोहर वर्गीकरण प्रणाली, पर्यावरणीय कानुनको पालना, पर्यावरणमैत्री सामग्रीको प्रयोग, हरित क्षेत्रको प्रवर्द्धन, अपांगता भएका व्यक्तिहरूको सहजता र स्थानीय कृषि उत्पादनको खपतलाई आधार बनाइएको थियो।

होटेलको भौतिक संरचना समावेशी ढंगले निर्माण गरेको तथा अपांगतामैत्री कोठाका साथ खुला ठाउँमा सहज पहुँचका लागि स्ट्रेचर र विद्युतीय ह्विलचेयर उपलब्ध गराइएको छ। होटेलले स्थानीय संस्कृति प्रवर्द्धन, सिप विकासअन्तर्गत स्थानीय तथा मिथिला कलाकृति, मूर्तिकला र हस्तकला प्रवर्द्धनमा दिएको प्राथमिकतालाई पनि मूल्यांकनको आधार बनाइएको बताइएको छ।

184 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता