पात्रो

रेडियो

समाचार खोजी

भैरहवामा सातामा २४ अन्तर्राष्ट्रिय उडान हुदै

साझा अर्थ संवाददाता २६ कार्तिक २०८१, सोमवार

भरहवाको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा कतार एयरवेजले पनि उडान गर्ने भएको छ । कतार थपिएपछि भैरहवा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको संख्या पाँच पुग्नेछ । विश्वव्यापी सञ्जाल फैलिएको कतार एयरवेजले मंगलबारदेखि भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ९जिबिआइए०मा उडान गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०ले आइतबार कतार एयरवेजलाई भैरहवामा दैनिक एउटा उडान गर्न अनुमति दिएको हो ।

यसअघि १८ कात्तिकदेखि थाई एयर एसिया र २४ कात्तिकदेखि जजिरा, फ्लाई दुबई र नेपाल वायुसेवा निगमले उडान थालेका छन् । अब भैरहवामा सातामा २४ अन्तर्राष्ट्रिय उडान हुनेछन् । भैरहवामा विज एयरले पनि नियमित उडानको तयारी गरिरहेको छ ।

कतार एयरवेजको एसियासहित युरोप र अमेरिकासम्म विश्वव्यापी कनेक्टिङ फ्लाइट भएकाले भैरहवाबाटै विश्वभर यात्रा गर्न सहज हुने भएको छ । कतारले तत्काललाई १५ मंसिरसम्म उडान गर्ने अनुमति मागे पनि बिस्तारै भैरहवामा नियमित उडान गर्ने अपेक्षा क्यानको छ ।

२ जेठ ०७९ देखि सञ्चालनमा आएको भैरहवा विमानस्थलमा अढाई वर्षपछि अन्तर्राष्ट्रिय वायुसेवाको चहलपहल बढेको छ । काठमाडौंमा उडान कटौती भएपछि नेपालमा अन्तर्राष्ट्रिय उडान गर्ने स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीहरूले भैरहवा विमानस्थललाई वैकल्पिक विमानस्थलका रूपमा स्वीकार गर्न थालेका हुन् ।     

दैनिक २१ घण्टा सञ्चालन हुँदै आएको त्रिभुवन विमानस्थलमा २३ कात्तिकदेखि १८ चैतसम्म १४ घण्टा मात्र उडान–अवतरण हुन थालेको छ । दैनिक सात घण्टा उडान आवर घटेपछि करिब ३० प्रतिशत अन्तर्राष्ट्रिय र ३५ प्रतिशत आन्तरिक उडान कटौती गरिएको छ ।

145 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता