अन्तराष्ट्रिय हवाई भाडामा भएको अत्याधिक बृद्धिपछि ट्राभल एजेन्सीहरुलाई एजेन्सीलाई एकमुस्ट टिकट बिक्रीको अधिकार खारेज गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको उडान कटौतीका कारण अत्यधिक बढाइएको हवाईभाडा नियन्त्रणका लागि भएको छलफलमा वायुसेवा कम्पनीहरू भाडा नियन्त्रण गर्ने बिषयमा सहमत भएका हुन् । शनिबार नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०को अगुवाइमा बसेको संयुक्त छलफलमा हवाईभाडा वृद्धि नियन्त्रण गर्ने सहमति भएको हो ।
वायुसेवा सञ्चालकले ट्राभल एजेन्सीहरूलाई पछि टिकट बिक्री गर्ने गरी एकमुस्ट रूपमा दिएको टिकट बिक्रीको अधिकार खारेज गरिएको छ । त्यस्तै, सबै वायुसेवा सञ्चालकहरूले द्विपक्षीय हवाईसेवा सम्झौताको प्राइसिङ शीर्षकमा उल्लेख भएअनुसार ‘उपभोक्तालाई मर्का पर्ने गरी अनुचित हवाईभाडा असुल गर्न नहुने’ प्रावधानको पूर्णता पालना गर्नुपर्नेछ । वायुसेवा सञ्चालकहरूले हवाईभाडा सूची तोक्ने र सार्वजनिक गर्नुपर्ने भएको छ । ट्राभल एजेन्सीहरूसँग टिकट बिक्रीको सम्झौता गर्दा निश्चित संख्या मात्र बिक्री गर्न सकिने र तोकिएको परिधिभित्र रहेर मात्र सेवा शुल्क लिने सहमति भएको छ । यस्तो व्यवस्था मिलाउने जिम्मेवारी सम्बन्धित वायुसेवा सञ्चालकलाई नै दिइएको छ ।
तोकिएबमोजिमको हवाईभाडा मात्र कायम राख्ने जिम्मेवारी वायुसेवा सञ्चालकको हुने र वायुसेवा सञ्चालकहरूले उपभोक्ता अधिकार सुनिश्चित हुने गरी कार्य गर्नुपर्ने निर्णय गरिएको छ । मिलेमतोमा सिन्डिकेट र कार्टेलिङ गरी हवाईभाडा बढाएर टिकट बिक्री गरेमा कारबाही गर्ने सरकारले निर्णय गरेको छ । अटेर गर्ने वायुसेवा कम्पनीको उडान रोक्नेसम्मको कारबाही हुन सक्ने व्यवस्था छ ।
उडान कटौतीका कारण हवाईभाडा अचाक्ली बढेपछि वैदेशिक रोजगारीमा जाने श्रमिक, अध्ययनका लागि जाने विद्यार्थीदेखि पर्यटकसम्म प्रभावित भएका छन् । काठमाडौंमा राति १० बजेपछिका सबै उडानहरू कटौती भएपछि महँगो मूल्यमा समेत टिकट नपाएको यात्रुहरूले गुनासो पोखेका छन् । त्रिभुवन विमानस्थल बन्दको बहाना बनाएर भाडा बढाएको भन्दै शुक्रबार पर्यटनमन्त्री बद्री पाण्डेले परराष्ट्रमन्त्री आरजु राणा र श्रममन्त्री शरतसिंह भण्डारीसहित म्यानपावर व्यवसायीसँग छलफल गरेका थिए ।
ट्याक्सी वे निर्माणका लागि त्रिभुवन विमानस्थल राति १० बजेबाट बिहान ८ बजेसम्म बन्द गरिएको छ । दैनिक २१ घण्टा उडान हुँदै आएकोमा अब दैनिक १४ घण्टा मात्र उडान हुने भएपछि अन्तर्राष्ट्रिय गन्तव्यका हवाई टिकटको हाहाकार भएको एक ट्राभल व्यवसायीले बताए । अभावको मौका छोपेर वायुसेवा कम्पनी र ट्राभल एजेन्सीहरूले हवाई टिकटको मूल्य पनि तीन गुणासम्म बढाएको यात्रुको गुनासो छ । हवाई टिकटको मूल्य एकाएक अकासिँदा यात्रुहरू ठुलो मर्कामा परेका छन् ।
साझा अर्थ संवाददाता