काठमाडौं : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार दोस्रोपटक अन्तर्राष्ट्रिय उडान भएको छ । बिहीबार दिउँसो चीनको कुनमिङबाट खेलाडी बोकेर उडेको सिचुवान एयरलाइन्सको चार्टड जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । १३४ यात्रु लिएर आएको सिचुवान एयरलाइन्सको जहाज पोखरामा दिउँसो २ः४० मा अवतरण भएको थियो ।
विमानस्थल सञ्चालनमा आएको १७२औँ दिनमा (६ असार ०८० मा) सिचुवानले पोखरामा पहिलो अन्तर्राष्ट्रिय उडान गरेको थियो । चीनको छेन्दु विमानस्थलबाट आएको सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ विमानले चार्टर्ड उडानमार्फत पोखरामा अवतरण गरेको थियो ।
१७ पुसमा ०७९ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेको विमानस्थल ११ फागुन ०८० मा इन्स्टुमेन्ट फ्लाइट रुल्स (आइएफआर) लागू भएपछि अन्तर्राष्ट्रिय उडान र रात्रिकालीन उडानका लागि तयार भएको थियो । १८ फागुन ०७९ देखि रात्रिकालीन उडान सुरु भएको विमानस्थलमा चार्टर्ड उडान भए पनि नियमित अन्तर्राष्ट्रिय उडान कहिलेबाट हुन्छ भन्नेमा हालसम्म कुनै अत्तोपत्तो छैन ।
साझा अर्थ संवाददाता