काठमाडाैं । वर्ल्ड ट्राभल मार्केटबाट नेपालले विश्व पर्यटन उद्योगकाे ध्यान आकर्षित गर्दै गर्दै छ । साहसिक यात्रा, सांस्कृतिक विविधता र दिगो पर्यटनका लागि अग्रणी गन्तव्यको रूपमा नेपालले लन्डनमा आयोजना भएको वर्ल्ड ट्राभल मार्केट २०२४ मा कार्तिक २० देखि आफ्नो उपस्थिति जनाउँदै विश्व पर्यटन उद्योगको ध्यान आकर्षित गरेको छ।
हालै लोनली प्लानेटद्वारा २०२४ का लागि बेस्ट इन ट्राभल गन्तव्यका रूपमा घोषित भएपछि यस वर्ष वर्ल्ड ट्राभल मार्केटमा नेपालको उपस्थिति थप महत्वपूर्ण बनेको छ । यसले विश्वभरका यात्रुहरू र पर्यटन व्यवसायीसामु नेपालको अनौठो सम्पदाहरुलाई प्रस्तुत गर्ने महत्त्वपूर्ण अवसर प्रदान गर्दछ।
जोशीले नेपाललाई बेस्ट इन ट्राभल गन्तव्यका रूपमा सम्मानित गरेकोमा लोनली प्लानेटलाई धन्यवाद दिँदै थप्नुभयो, “लोनली प्लानेटको यो मान्यताले नेपालको पर्यटन सेवाहरूलाई थप विश्वसनीयता प्रदान गर्दै, प्रतिस्पर्धी गन्तव्यहरूबाट यसलाई अलग बनाउँछ। यस मान्यताले उत्कृष्ट गन्तव्यका रूपमा हाम्रो स्थितिलाई थप मजबुत बनाउँछ र गहिरो तथा दिगो यात्रा अनुभवहरू खोज्ने आगन्तुकहरूलाई आकर्षित गर्ने हाम्रो लक्ष्यसँग पूर्ण रूपमा मेल गराउँछ ।”
वर्ल्ड ट्राभल मार्केटमा रहेको नेपाल स्ट्यान्डले देशका अनुपम परिदृश्यहरू, प्रख्यात हिमालदेखि प्राचीन सांस्कृतिक स्थलहरूलाई समेटेको छ । यसले आगन्तुकहरूलाई नेपाली सम्पदाका विशिष्ट तत्वहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने अवसर दिनेछ।
“हाम्रो वर्ल्ड ट्राभल मार्केटमा उपस्थिति साहसिक यात्रा, अध्यात्म र सम्पदाको संयोजन भएको गन्तव्यको रूपमा नेपाललाई परिचित गराउनका लागि हो । जसले २०२४ र त्यसपछिका लागि आकर्षक गन्तव्यका रूपमा हाम्रो छविलाई बलियो बनाउने कार्यमा महत्त्वपूर्ण भूमिका खेल्छ,” जोशीले भने ।
साझा अर्थ संवाददाता