काठमाडौँ, २५ जेठ: नेपाल धितोपत्र बोर्ड स्थापनाको ३४ औँ वर्षमा प्रवेश गरेको छ। यस अवसरमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सुरक्षित, प्रतिस्पर्धी र आधुनिक प्रविधियुक्त सेयर बजार निर्माण गरी लगानीकर्ताको हित संरक्षण गर्ने सरकारी प्रतिबद्धता दोहोर्याउनुभएको छ।
तर, वार्षिकोत्सवको यो अवसर बोर्डभित्रकै आन्तरिक विवाद र नेतृत्वविहीनताका कारण खल्लो बनेको छ। बोर्डका उप-निर्देशक अजय ढुङ्गानाले सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमै तीव्र असन्तुष्टि पोख्दै संस्था पछिल्लो समय सार्वजनिक हितभन्दा व्यक्तिगत स्वार्थमा केन्द्रित हुन थालेको आरोप लगाउनुभएको छ। विगत जस्तो यसपटक कुनै औपचारिक कार्यक्रम नगरिएको र कार्यालय सुनसान रहेको उहाँले खुलाउनुभएको छ।
अध्यक्षले राजीनामा दिएको दुई महिना बितिसक्दा समेत नयाँ नेतृत्व नियुक्त हुन नसक्दा बोर्डको गति सुस्त बनेको छ। उप-निर्देशक ढुङ्गानाले बोर्डलाई कुनै पक्षमा नलागी 'निष्पक्ष रेफ्री' को रूपमा काम गर्न आग्रह गर्नुभएको छ।