काठमाडौँ। इन्डोनेसियाको जाकार्तामा भएको अन्तर्राष्ट्रिय एआई, रोबोटिक्स र कोडिङ प्रतियोगितामा नेपाली विद्यार्थीहरूले उत्कृष्ट प्रदर्शन गर्दै पुरस्कार जितेका छन्। विश्वका ७० भन्दा बढी देशका झण्डै १५०० विद्यार्थी सहभागी उक्त प्रतियोगितामा नेपालबाट ९८ विद्यार्थी सहभागी थिए।
नेपालको तर्फबाट सहभागी ६ विद्यार्थीको टोलीले पुरस्कार जित्न सफल भएको छ भने तीन टोली शीर्ष ३० मा परेका छन्। विद्यार्थीहरूले वायु प्रदूषण, दूषित पानी, आधुनिक कृषि प्रणाली र औषधि व्यवस्थापनजस्ता विषयमा नवीन अवधारणा प्रस्तुत गरी संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्यसँग सम्बन्धित समाधान पेस गरेका थिए।
नीमा एजुकेसन फाउन्डेसनले विभिन्न विद्यालयसँग समन्वय गरी विद्यार्थीहरूलाई प्रतियोगिताको तयारी गराएको थियो। फाउन्डेसनले आइतबार काठमाडौँमा पुरस्कृत विद्यार्थी तथा विद्यालयलाई सम्मान गरेको छ।
काठमाडौँ विश्वविद्यालयका आईटी विभाग प्रमुख प्रा. डा. सुदन झाले नेपालमा एआई, रोबोटिक्स र कोडिङमा विश्वसँग प्रतिस्पर्धा गर्ने क्षमता विकास भएको बताउँदै विद्यालय शिक्षामा आईटीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। फाउन्डेसनले अर्को वर्षको प्रतियोगिताका लागि आगामी महिनादेखि रचनात्मक कार्यक्रमहरू सञ्चालन गर्ने जनाएको छ।