पात्रो

रेडियो

समाचार खोजी

इनिसा विक मृत्यु प्रकरण: अनुसन्धान प्रतिवेदन बुझाइयो, अब कानुनी प्रक्रिया अघि बढ्ने

साझा अर्थ संवाददाता ११ चैत २०८२, बुधवार

काठमाडौं । सुर्खेतकी १६ वर्षीया इनिसा विकको मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धान सम्पन्न गरी प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको जनाएको छ। यससँगै उक्त घटना कानुनी प्रक्रियाको चरणमा प्रवेश गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डिएसपी मोहनजंग बुढथापाका अनुसार, आरोपितहरूको बयान तथा उपलब्ध प्रमाणका आधारमा अनुसन्धान प्रतिवेदन तयार गरी सरकारी वकिल कार्यालयमा पेस गरिएको हो। अब उक्त कार्यालयले आवश्यक कानुनी प्रक्रिया अघि बढाउनेछ। प्रहरीले प्रतिवेदनको निष्कर्षबारे भने विस्तृत विवरण सार्वजनिक गरेको छैन।

इनिसा विक गत फागुन २३ गते बिहान ट्युसन जान भन्दै घरबाट निस्किएकी थिइन्। सोही दिन बिहान करिब ९ बजेतिर वीरेन्द्रनगर–४ स्थित सहिद पार्क नजिकैको जनजागरण सामुदायिक वन क्षेत्रमा अचेत अवस्थामा भेटिएकी उनलाई प्रदेश अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।

घटनापछि प्रहरीले सोही दिन एक १६ वर्षीय युवकलाई नियन्त्रणमा लिएको थियो। त्यसपछि उनको बयानका आधारमा थप तीन जनालाई २४ गते नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको थियो। घटनालगत्तै पीडित परिवारले पक्राउ परेका चारै जनाविरुद्ध कर्तव्य ज्यान तथा जबरजस्ती करणीसम्बन्धी मुद्दामा किटानी जाहेरी दिएका थिए।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार, प्रारम्भिक विवरणमा २३ गते पक्राउ परेका एक नाबालकको मुख्य संलग्नता देखिएको उल्लेख गरिएको छ। अन्य तीन जना भने घटनास्थलमा पछि पुगेको देखिएको र उनीहरूको प्रत्यक्ष संलग्नता पुष्टि नभएको जनाइएको छ। यद्यपि, समयमै प्रहरीलाई जानकारी नदिएको लगायतका विषयमा उनीहरूमाथि पनि कानुनी कारबाहीका लागि सिफारिस गरिएको बताइएको छ।

प्रहरीका अनुसार, घटनासँग सम्बन्धित केही प्राविधिक प्रतिवेदनहरू प्राप्त भइसकेका छन् भने केही अझै आउन बाँकी छन्। बाँकी प्रतिवेदनहरू अदालतको प्रक्रियामा पेस गर्न सकिने भएकाले हाल उपलब्ध प्रमाणका आधारमा अनुसन्धान प्रतिवेदन बुझाइएको जनाइएको छ।

यसैबीच, घटनाको अनुसन्धानका लागि सुर्खेत पुगेको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पनि आफ्नो काम सम्पन्न गरी फर्किएको छ।

घटना भएको केही समय बितिसक्दा पनि इनिसाको शव कर्णाली प्रदेश अस्पतालको शव गृहमा राखिएको छ। पीडित परिवारले न्याय नपाएसम्म दाहसंस्कार नगर्ने अडान लिएको जनाएको छ।

अब यस घटनासम्बन्धी अन्तिम निष्कर्ष अदालतको प्रक्रियाबाट नै आउने अपेक्षा गरिएको छ।

82 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ