नवप्रवर्तन र प्रविधिको विकास सरकारको प्राथमिकतामा
काठमाडौँ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नवप्रवर्तन र प्रविधिको विकास सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । इञ्जिनीयरिङ् अध्ययन संस्थान, पुलचोक कलेजले विकास गरेको पेट्रोल र हाईड्रोजनबाट चल्ने गाडीको शुभारम्भ कार्यक्रममा आज उहाँले समृद्ध नेपालको लक्ष्य प्राप्त गर्न वैकल्पिक ऊर्जा, प्रविधि र अनुसन्धानलाई प्रोत्साहन गर्न सरकार तयार रहेको बताउनुभयो ।
मन्त्री दाहालले प्रविधिको विकास र प्रवर्द्धनका लागि आवश्यक नीतिगत व्यवस्थाका लागि मन्त्रालय अग्रसर रहेकोसमेत बताउनुभयो । “औद्योगिक मुलुकका कारण विश्वव्यापी रूपमा बढिरहेको कार्बन उत्सर्जनको मारमा नेपाल जस्ता मुलुकहरू परिरहेका छन् । यसले पर्दा हिमालदेखि समुद्रसम्म प्रदूषणको मारमा परिरहेको छ”, उहाँले भन्नुभयो,“यस्ता विश्वव्यापी चुनौतीको सामना गर्न नेपाल पनि तयार रहनुपर्छ । त्यसका लागि वातावरणमैत्री र नवीकरणीय ईन्धनको प्रवर्द्धनमा जोड दिन आवश्यक छ ।”
मन्त्रालयका सचिव केशवकुमार शर्माले नेपालले प्राकृतिक रूपबाट नै हाईड्रोजन प्राप्त गर्न सक्ने भएकाले औद्योगिक उत्पादन र उपयोगका लागि कानुनी व्यवस्था गर्न मन्त्रालय तयार रहेको बताउनुभयो ।
पेट्रोल र हाईड्रोजनको प्रयोगबाट चल्ने ‘इञ्जिन’ निर्माणको नेतृत्व गर्नुभएका डा प्रकाश थापाले पेट्रोलबाट चल्ने पुरानो कारको इञ्जिनलाई हाईड्रोजन उपयोग गरी पेट्रोलको खपत कम गराउन पहिलो पटक नमूनाका रूपमा इन्जिन बनाइएको बताउनुभयो । यस प्रविधिको विकास र विस्तार गर्न सके थोत्रा भएर थन्किएका सयौँ सवारी साधनलाई पुनः प्रयोगमा ल्याउन सकिने उहाँको भनाइ थियो ।
कार्याक्रममा क्याम्पस प्रमुख डा ईन्द्रप्रसाद आचार्य, सहायक डिन चिन्तामणि पोखरेललगायतले नेपाली प्राविधिक र प्रविधिलाई प्रोत्साहनको खाँचो रहेको बताउनुभएको थियो ।
सोही कार्यक्रममा ‘कन्भर्सन’ प्रविधि उपयोग गरी इञ्जिन रूपान्तरण गरिएको कारमा मन्त्री दाहाल, सांसद ठाकुर गैरे, पूर्वमन्त्री कर्णबहादुर थापासमेत सवार हुनुभएको थियो । कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्, हाईड्रोजनविज्ञलगायतको सहभागिता रहेको थियो ।
92
Sharesसम्बन्धित समाचार
पछिल्लो खबर
-
बीटीएस टावरमा क्षति पुग्दा हुम्लाका विभिन्न स्थानमा टेलिकमको सेवा अवरुद्ध
-
साना उद्यमीका उत्पादनलाई बजारीकरणमा सहजीकरण गर्न “ग्लोबल हाट बजार”
-
सेना र प्रहरीको अस्पताल सर्वसाधारणका लागि खुलाउने स्वास्थ्य मन्त्री पौडेलले थाले पहल
-
बेरूजु फर्छ्योटका काममा गति दिने लेखा समिति निर्णय
-
नेपाल समुद्रपार निकासी पैठारी संघको अध्यक्षमा शिवकुमार अग्रवाल
-
२८.९१ अंकले बढ्यो नेप्से, कारोबार रकम घट्यो